Logo
Logo

भ्रष्टलाई छुटाउन प्रधानमन्त्रीकहाँ दौडधुप



काठमाडौंं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अख्तियारमा सरुवा भएका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याललाई पक्राउ गरेपछि उनलाई छुटाउन प्रधानमन्त्री कार्यालयसम्म पुग्ने पात्र को होला ? शनिवार पक्राउ परेका अर्याललाई आइतबार अदालतमा पुर्याउनै नदिई सरकारी वकिल कार्यालयबाटै फिर्ता गराउने कोसिस चल्यो । त्यसका लागि आइतबार दिनभर प्रधानमन्त्री कार्यालयमा धर्ना दिन पुगेका थिए अर्थमन्त्रालयका सहसचिव टोकराज पाण्डे, उपसचिव कमानसिंह थापामगर र गृहमन्त्रालय सहसचिव गोगनबहादुर हमाल ।

नक्कली लाइसेन्स जारी प्रकरणमा अर्यालसहित हरिश भट्ट र नारायण पाण्डे पनि सिआईबीको नियन्त्रणमा पुगेपछि आफूहरु समेत तानिसक्ने भन्दै पाण्डे र हमालले अर्थमन्त्रालयमा कार्यरत उपसचिव थापाको साथ लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए । अर्थमन्त्री पुनसँग राम्रो सबन्ध भएका थापा र प्रशासन विभाग प्रमुख रहेका पाण्डेबीच राम्रो सम्बन्ध भएकाले उनीहरु अर्यालसहितको टिमलाई छुटाउन आइतबार प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

सवारी ज्यान मुद्दामा शशांक बस्याल नाम गरेका व्यक्तिलाई गाडीको नक्कली लाइसेन्स दिएर थुनामुक्त गराउन कम्प्युटर इन्जिनियर अर्याल, बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेलगायतका कर्मचारी संलग्न रहेको फेला पारेपछि सिआईबीले अनुसन्धान सुरु गरेको थियो ।

त्यसकै अनुसन्धानका लागि कम्प्युटर इन्जिनियर अर्याल, भट्ट र पाण्डेलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । नक्कली लाइसेन्स जारी धन्दाको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआईबीमा पुगिसकेको छ । सिआईबी र अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा उक्त प्रतिवेदनमा नाम किटान गरिएका कम्प्युटर इन्जिनियर अर्यालको मिलेमतोमा अख्तियारमा सरूवा गराइएको थियो ।

इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स छानबिनलाई प्रभावित पार्न यातायातका पूर्व कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियार सरुवा गरिएको भएपनि उनलाई सिआइबीले पक्राउ गरेपछि अख्तियार पनि सोच्न बाध्य भएको छ ।

कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियार लान अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव कमानसिंह थापा मगरको विशेष भूमिका रहेको सामान्य प्रशासन मन्त्रालय स्रोतको दाबी छ । अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा सामन्यको कर्मचारी प्रशासन शाखाको हाकिम रहेका थापाको जोडबलमा उनलाई अख्तियार पुरÞ्याइएको मन्त्रालय स्रोतको दाबी छ ।

वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री हुँदा निजी सचिव रहेका थापा सामन्यको कर्मचारी प्रशासन, गृहको कर्मचारी प्रशासन हुँदै अर्थमा पुगेका हुन् । नक्कली लाइसेन्स र इम्बोस्डमा जोडिएका अर्थ मन्त्रालका सहसचिव डा. टोकराज पाण्डेको मातहतमा काम गरिरहेका थापाले पाण्डेसँगै काम गरेका अर्याललाई अख्तियारमा सरुवा गर्न भूमिका रहेको स्रोतको दाबी छ । अख्तियारले पनि विवादित र छानबिनमा तानिने सम्भावना भएको व्यक्तिलाई सरुवाको सहमति दिएकाले आलोचना हुन थालेको हो ।

थापासँगै सामान्यको कर्मचारी प्रशासन कार्यालयमा काम गरेका शाखा अधिकृत विकास डंगोल समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा नक्कली भिसा काण्डमा अदालतमा मुद्दा खेपिरहेका छन् ।

कम्प्युटर इन्जिनियर अर्याल पक्राउ परेसँगै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु नमराज घिमिरे, डा. टोकराज पाण्डे, गगनबहादुर हमालहरु छुटाउन सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्