Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने



कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही आउने शुक्रबार विश्वासको मत लिने भएका छन् । आज बिहान बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेशसभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने समझदारी तयारी गरिएको छ ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्