Logo
Logo

पालुङमा यसरी तामझामका साथ खिचियो ‘मास्टर्नी’ (फोटो फिचरसहित)



काठमाडौं । गायक तथा नायक देव आले मगर नयाँ गीत तथा भिडियो लिएर आउँदैछन् । ‘शीरफूल’ अभिनेतासमेत रहेका गायक देवले आफ्नो पछिल्लो गीत ‘मास्टर्नी’को भिडियो ल्याउन लागेका हुन् ।

देवसँगै मञ्जु थापाले गाएको ‘मास्टर्नी’ बोलको गीतको भिडियो हालै तामझामका साथ छायाँकन गरिएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा यस गीतको छायाँकन गरिएको छ ।

फिल्मीशैलीमा छायाँकन गरिएको यस गीतको भिडियोमा गायक देव आले मगरसँगै रेनुका आले मगर फिचरिङ छिन् । भिडियोमा देव र रेनुकाबीचको अनस्क्रिन रोमान्स देख्न पाइने छ । भिडियोमा रेनुका मास्टर्नीको भूमिकामा देखिनेछिन् ।

गायक देवको महत्वकांक्षी गीत हो, किनकि लामो समयपछि यस गीतलाई उनले तामझामका साथ भिडियो निर्माण गरेका छन् । सांगीतिक बजारमा डान्सिङ शैलीका गीत चलिरहेका बेला देवले ‘मास्टर्नी’ ल्याउन लागेका हुन् । ‘मास्टर्नी’को छायाँकन सकाएर फर्केपछि देवले भने, ‘हाल बजारमा चलिरहेको ट्रेण्डअनुसार मास्टर्नीको भिडियो निर्माण गरिएको छ ।’

हाल सम्पादन भइरहेको यो भिडियो चाँडै सार्वजनिक गर्ने उनले बताए । ‘भिडियो निर्माणमा निकै मिहिनेत गरेका छौँ’ देवले भने, ‘दर्शक तथा स्रोताले पनि भिडियो र गीतलाई रुचाउने छन् भन्नेमा विस्वस्त छु ।’

भिडियोकी मोडल रेनुकाले पनि ‘मास्टर्नी’बाट आफू अपेक्षित रहेको बताइन् । ‘यस भिडियोका लागि सकेजति मिहिनेत गरेकी छु’ उनले भनिन्, ‘टिमले नै मिहिनेत गरेका छौँ, मिहिनेत गरेअनुसार भिडियो राम्रो बन्ने छ भन्नेमा म ढुक्क छु ।’

चित्र मस्की मगरको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरिरहेका छन् । यस भिडियोका लागि विमला तामाङले शृँगार पटार गरेकी छन् । धुव्र थापाको प्रोडक्शन रहेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । गीतमा देवकै शब्द तथा लय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्