Logo
Logo

आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, एमालेले नदिने



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए । सोडारीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ । तर, नेकपा एमालेले भने हालसम्म उनलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय लिन सकेको छैन ।

हालै समपन्न बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको थियो । तर, एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए ।

‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबिच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो । तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो । सहमति एउटा, काम अर्को भएपछि विश्वासमा सङ्कट थपियो,’ उनले भने ।

एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले पनि २१ गते नै विश्वासको मत दिने सम्भावना नरहेको बताए । हामीले विश्वासको मत नदिने भनेका छैनौँ । हामी छलफल गर्छौ । विश्वासको मत नदिने भन्ने होइन तर, २१ गते नै दिने सम्भावना भने छैन,’ उनले भने ।

एमाले अन्य सांसदहरू पनि शुक्रवार नै विश्वासको मत दिने सम्भावना नरहेको बताउँछन् । यता नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका पाँच सांसदहरूले पनि विश्वासको मत नदिने बताएका छन् ।

हामी विश्वासको मत दिँदैनौँ रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीले भने । यता रन्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दासम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्