Logo
Logo

सुदूरपश्चिममा एमाले दलका नेता काठमाडौं हिंडे, मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित



काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज पनि विश्वासको मत नदिने भएको छ । बझाङ प्रदेससभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीले एमालेका उम्मेदवार हराउन लागेको भन्दै एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने भएको हो ।

मुख्यमन्त्रीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए । तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए ।

तर आज भने एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै काठमाडौं हानिएका छन् । एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यसअघि सोडारीले २ वैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । तर एमाले, माओवादीको समर्थनमा नाउपाका कैलाश चौधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक आह्वान गरेपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएर आफूले दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्