Logo
Logo

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । छलफलका लागि सभामुखले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा नेताहरूलाई बोलाएका हुन् ।

संसद अधिवेशन सुरु हुनुअघि नै रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्य व्यवस्थामा अलग अलग छलफल भएको थियो । तर त्यसबाट पनि सहमति जुट्न नसकेपछि सभामुखले संसद अधिवेशन नै अन्त्य गरेका थिए । संसद्को बर्खे अधिवेशन यहि बैशाखद २८ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्