Logo
Logo

सुनकोशी मरिन डाइभर्सनका काम निर्धारित समयमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन



सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार (आज बिहान) आयोजनास्थलको स्थलगत अनुगमनपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बहुउद्देश्यीय आयोजना ठुलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन् । समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।’ प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए ।

सुरुङमार्गबाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न आग्रह गरे ।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।

सुरुङ ब्रे थु्र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री यहाँ आएका हुन् । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ ।

त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेश प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्