Logo
Logo

उपेन्द्र यादवकाे दाबी- नयाँ दल दर्ता असंवैधानिक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन् । उनले नयाँ दल दर्ता असंवैधानिक भएको पनि दावी गरेका छन् ।

पार्टी विभाजनपछि पहिलो पटक बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको दाबी गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताए । राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यसविरुद्ध अदालत जाने बताएका छन् । उनले कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला निराधार र गलत भएको बताए ।

उनले भने, ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’ अध्यक्ष यादवले आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको बताउँदै भने, ‘जुन हौवा फिजाइयो, उहाँ पनि (प्रधानमन्त्री) त्यो भ्रममा पारेको भन्ने बुझियो ।’

प्रतिक्रिया दिनुहोस्