काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठूला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आएपनि अहिलेसम्म एमालेसँग सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताए ।
उनले भने, ‘एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन । तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ ।’
लखकले अगाडि भने– ‘साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ, एमाले, कांग्रेसमा पनि छ । तर अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन ।’
उनले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए ।
लेखकले टेकबहादुर गुरुङबारे वैधानिक परीक्षण हुने बताउँदै त्यसबारे अहिले धेरै नबोल्ने बताए । उनले सहकारीको पैसा अपचलन भएको बारे समग्रतामा छानबिन गरेर जान आफूहरू तयार रहेको बताए ।
सचेतक लेखकले अहिलेको संसदीय प्रणालीमा संसद्मा सरकारको बहुमत हुने बताउँदै प्रतिपक्षीले भनेको सामान्य कुरा पनि सरकारले नटेर्ने अवस्था रहेको बताए ।