Logo
Logo
कोशी प्रदेश

छैटौंपटक सरकार गठनको आव्हान, एमाले र माओवादीद्वारा दावी पेश गर्ने तयारी



मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत नै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमखले सरकारको दाबी पेश गर्न दुई दिनको समय दिएको छ । यसअघि कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समयसीमा दिइएको थियो ।

संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा मुख्यमन्त्री कार्की पुगेपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
सरकार गठनको आव्हान भएलगत्तै एमाले–माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।

आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की नेतृत्वको सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो । यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् ।

संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौंपटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा दुईपटक हिक्मत कार्की, दुईपटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्