Logo
Logo
कोशी प्रदेश

मुख्यमन्त्री कार्कीले भने- प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्च अदालत जान्छु

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको कदमविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमखले अर्काे सरकार गठनको आह्वान गरेर ‘असंवैधानिक कदम’ चालेको आरोप लगाउँदै मुख्यमन्त्री कार्कीले सर्वाेच्च जाने बताएका हुन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्की २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्काे सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरे । ‘संविधानले दुईवटा सरकारको परिकल्पना गरेको छैन’ उनले भने, ‘त्यसैले प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जाने छु ।’

आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको भन्दै उनले भने, ‘यो असंवैधानिक कदम भयो । गल्ती गर्दाखेरी मान्छे चुक्छन् ।’

यता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत परीक्षण गरेपछि केदार कार्की स्वतः कामचलाउ भएकाले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको दावी गरेका छन् । उनले एमाले र माओवादीको नेतृत्वमा सरकारको दावी पेश गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्