Logo
Logo

आशावादी रहेर बजेट बनाइरहेका छौँ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आव. २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा यस्तो बताएका हुन ।

उनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए । गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको बताउँदै अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौँ ।’

प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नुपर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।

लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए । उनले औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने बताउँदै भने, ‘सरकारका पनि आफ्नो सीमाहरू हुन्छन्, यसलाई फुकाउँदै जानुपर्छ ।’


वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको बताउँदै उनले यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।

अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए । बजेट बनाउँदा ठूलो प्रेसर भोग्नुपरेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्