Logo
Logo

सर्वोच्चमा आज कुनै पनि इजलास नबस्ने



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिएपनि सर्वाेच्चका कुनै पनि इजलास नबस्ने भएका कारण उक्त रिट सुनुवाइ नहुने भएको हो । सर्वाेच्चका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएकाले सर्वाेच्चमा कुनैपनि इजलास नबस्ने सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको बुधबार निधन भएको थियो । खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत लिँदा सभामुखको समेत मत पाएको भनी गरेको घोषणा बदर गर्न माग गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयका तर्फबाट मंगलबार अदालतमा रिट दायर भएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशमा खगराजले ३० मत मात्रै पाउँदा पनि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुख धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेसले ‘असंवैधानिक कार्य’ भन्दै विरोध गर्दै आएको छ । प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

कानुनविपरीत भएको मुख्यमन्त्री अधिकारीको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्नु पर्ने पनि पाण्डेयको माग छ ।

प्रतिक्रिया दिनुहोस्