Logo
Logo

नेपाली कांग्रेस शोकमा, तीन दिन पार्टीको झण्डा झुकाउने​



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनमा शोक मनाउने भएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।

कांग्रेसले बिहीबारदेखि ३ दिनसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

वैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

संविधानसभा सदस्यसमेत रहेका पूर्वमन्त्री गुरुङको वैशाख २५ गते उपचारका क्रममा ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा निधन भएको हो ।

नेपाली कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको पूर्वसदस्यजस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए।

वि.सं. १९९८ वैशाख १० गते जन्मिएका गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्