Logo
Logo

बागमतीमा संसदीय समितिको सभापतिका लागि मनोनयन दर्ता


1k
Shares

हेटौँडा । बागमती प्रदेशसभाको ४ वटा संसदीय समितिका सभापतिका लागि सांसदहरूले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका दुईजना, राप्रपाका एक र माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन् । जसमा कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समितिमा मनोनयन दर्ता गरेका छन् ।

उनले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्त गरेका हुन् । सांसद लामा काठमाडौं क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कांग्रेसका सांसद श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका छन् । लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामिछाने काठमाडौँ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित सांसद हुन् ।

यस्तै, राप्रपाका नुरज बज्राचार्यले अर्थ तथा विकास समितिमा मनोनयन दर्ता गरेका छन् । रमेश महतको प्रस्ताव र डम्बर तामाङको समर्थनमा उनले समिति सभापतिमा मनोनयन दर्ता गरेका छन् । उनी काठमाडौँ ९(१) बाट निर्वाचित सांसद हुन् ।

यस्तै, माओवादी केन्द्रका सांसद ठाकुर प्रसाद ढकालले प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् । प्रदेशसभाको थप २ समितिको सभापति लागि मनोनयन दर्ता हुनेछ । प्रदेश विशेषाधिकार समिति र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा क्रमशः एकीकृत समाजवादी र एमालेले मनोनयन दर्ता गर्नेछन् ।

एमालेको भागमा परेको उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्द कुमार श्रेष्ठ र नेकपा एसको भागमा परेको विशेषाधिकार समितिको नेतृत्वमा सांसद मायादेवी शर्माले मनोनयन दर्ता गर्नेगरि नाम टुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्