Logo
Logo

मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस


126
Shares

महेन्द्रनगर (धनुषा) । महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरिएको छ । प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा आज महालेखापरीक्षक मधेश प्रदेश कार्यालय प्रमुख श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

महालेखापरीक्षकको कार्यालयबाट तयार गरिएको नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताए । प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशमा अन्य प्रदेशका तुलनामा बेरुजु बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे ।

‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास लिएको छु । यस विषयमा प्रदेश सरकारलाई आवश्यक सुझाव र ध्यानाकर्षण गर्नेछु’, उनले भने ।

महालेखापरीक्षक कार्यालय मधेश प्रदेश कार्यालय प्रमुख सहसचिव भण्डारीले गत वर्षभन्दा मधेश प्रदेशमा बेरुजु बढेको बताउँदै बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की प्रमुख कारण रहेको बताएका छन् ।

कार्यक्रममा मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखापरीक्षकको कार्यालयका उपसचिव ताराप्रसाद सुवेदीलगायतको सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्