Logo
Logo

अमेरिकालाई चीन र भारतको चुनौती


डा. दीपेश केसी

2.3k
Shares

कंगोमा गत हप्ता दुई अमेरिकीलाई सुरक्षा फौजले घेरेको र जीवन रक्षाका लागि अनुनय विनय गरेको भिडियो भाइरल भयो । कंगोमा रहेका तीन अमेरिकी नागरिकमाथि सीआइएको एजेन्ट भन्दै कू गर्न खोजेको आरोप लगाएर दमनको दृश्य थियो त्यो, जुन सामान्य विषय होइन ।

अमेरिका विरोधी शक्ति अफ्रिकामा हाबी हुँदै गइरहेको संकेत हो त्यो, जुन घटनाक्रमले देखाइरहेको छ । कुनै बेला अमेरिका र फ्रान्सको प्रभाव रहेको कतिपय अफ्रिकी देशहरूमा धमाधम सैनिक विद्रोह भई ती शक्ति समर्थित सरकार ढलेको छ अहिले ।

अफ्रिकी महादेशमा प्रभाव गुम्दै गएपछि अमेरिकाले केन्याका राष्ट्रपतिलाई वासिङ्टनमा रातो कार्पेट ओछ्याएको छ । १५ वर्षपछि कुनै अफ्रिकी नेताले अमेरिकाको राजकीय भ्रमणको निम्तो पाएको सायद पहिलो घटना बन्यो त्यो । केन्याका राष्ट्राध्यक्षलाई अमेरिकाले त्यो तहको स्वागत दिनु अर्थपूर्ण छ । गुम्दै गरेको प्रभाव र शक्तिलाई बचाउन अमेरिकाले नयाँ रणनीतिअन्तर्गत यसो गरेको विश्लेषण छ ।

अमेरिकाको अरब मुलुकमा सबैभन्दा भरपर्दो शक्तिका रुपमा मानेको साउदी अरब पनि बिस्तारै अन्य शक्तितर्फ ढल्कन थालेको छ । सन् २०१८ मा पत्रकार जमाल खसोगी हत्या प्रकरणमा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानसँग अमेरिकाको सम्बन्ध चिसिएको थियो ।

त्यो घटनाले साउदी अरब अमेरिकासँग मात्र केन्द्रित भएर सम्बन्धमा एकोहोरिन छाड्यो । उसको रुस र चीन जस्ता मुलुकसँग पनि सम्बन्ध बढ्न थाल्यो । नयाँ नयाँ सम्झौताहरू ग¥यो अन्य देशसँग साउदीले ।

यसरी अमेरिकाले पुराना मित्रहरू गुमाउँदै गयो । जो छन् तिनले पनि नयाँ शक्तिको मापन गरेर अन्यत्र पनि ध्यान मोड्न थाले । यसको असर अहिले विश्व अर्थतन्त्र देखि शक्ति सन्तुलनमा पनि देखिइरहेको छ ।

एसियामा तीन मुख्य शक्ति चीन, भारत र जापानसँग अमेरिकाको फरक खालको सम्बन्ध छँदै छ । चीनसँग टकराबका बाबजुद व्यापारिक सम्बन्ध छ । भारत त चीनलाई दबाबमा राख्न अमेरिकाको वाध्यकारी मित्र नै बनेको छ । दोस्रो विश्वयुद्धमा एटम बम खसालेपछि जापानमा अमेरिकी प्रभाव रहँदै आएको छ । चीनले आर्थिक शक्तिका रुपमा अमेरिकालाई ठूलै चुनौती दिइरहेको छ ।

नयाँ प्रविधिका सामाग्री उत्पादनमा प्रयोग हुने कतिपय स्रोत चीनमा बढी पाइनु र ठूलो जनसङ्ख्या हुनुले पनि चीनको शक्ति बढिरहेको छ । अर्कोतर्फ, चीनले सैन्य क्षेत्रमा लगानी ह्वात्तै बढाएको छ ।

अफ्रिका, युरोप र एसियाका कतिपय क्षेत्रमा चीनले आफ्नो प्रभाव बनाइरहेको छ । यो अमेरिकाका लागि ठूलो चुनौती बनिरहेको छ । रुसलाई भित्री रुपमा चीनले युक्रेन युद्धमा साथ दिइरहेको छ । सस्तो मूल्यमा रुसको तेल चीनले खरिद गरेर लाभ लिइरहेको छ ।

भारत अमेरिकाका लागि अर्को चुनौती बनेको छ अहिले । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछिको १० वर्षमा भारत विश्वको १०औँ धनी देशबाट पाँचौँ धनी देश बनेको छ । मोदीले अध्यात्मवादमा टेकेर पनि देश विकासमा फड्को मार्न सकिने सन्देश दिएका छन् ।

अमेरिकालगायत पश्चिमा देशहरूको प्रभावलाई भारतभित्र मात्र नभई कतिपय आफ्ना प्रभाव क्षेत्रमा कमजोर पारिदिए । अमेरिकाको चेतावनीको बाबजुद रुससँग ठूलो परिमाणमा पेट्रोलियम पदार्थ खरिद गरिरहेको छ भारतले । इरानसँग हालै मात्र बन्दरगाह सञ्चालनका लागि सम्झौता गरेको छ ।

कुनै पनि विदेशी मुलुकसँगको सम्धी सम्झौता शक्ति राष्ट्रको दबाबलाई थेगेर राष्ट्रिय स्वार्थमा गर्नुपर्छ भन्ने मान्यता अनुसार भारतीय प्रधानमन्त्री मोदी चलेका छन् । उनको कार्यकालमा रुस, इरानका अलावा कतिपय अरब देशहरूसँगको सम्बन्ध भारतको स्वार्थमा केन्द्रित भएर चलेको छ । अमेरिकी चाहनालाई बेवास्ता गर्दै भारत जर्बजस्त अघि बढिरहेको छ ।

अर्कोतर्फ, अमेरिका र बेलायतको महत्त्वपूर्ण पदहरूमा भारतीय मूलका नागरिक पुग्नुले पनि भारतलाई अप्रत्यक्ष लाभ मिलिरहेको छ । ट्विटरका मालिक इयोन मस्कले त अमेरिकामा भारतीय समुदायको एकतातर्फ संकेत गर्दै सन् २०२४ अमेरिकाको राष्ट्रपति अमेरिकी जनताले चुन्ने अन्तिम चुनाव हुने टिप्पणी गरेका छन् । यसको मतलब गैर अमेरिकी मूलका मतदाता चुनावमा हाबी हुनेछन् त्यसमा पनि भारतीय बढी छन् ।

अमेरिकामा भारतीय र चिनियाँ मतदाताको संख्या बढेसँगै रिपब्लिक दलका सांसदले त धर्मान्तरका लागि वाइडेन प्रशासनले रकम खर्च गरेको खुलासा नै गरे । विशेष गरी हिन्दु बाहुल्य नेपाल र भारतमा धर्मान्तरका लागि ठूलो धनराशि खर्च भइरहेको त्यहाँका सांसद नै संसदमा बोलेपछि तरङ्ग आयो । अमेरिकामा गैर क्रिस्चियन मतदातालाई आकर्षित गर्न पनि यो बोल्नुपर्ने बाध्यता रिपब्लिकनहरूलाई आइलाग्यो ।

यसरी अमेरिका आफैँ त्यहाँका श्वेत या युरोपेली मूलकाहरुको दबदबामा सीमित नहुने अवस्थामा पुगेको छ । यसले पनि अमेरिकामा पश्चिमा मूलकाहरुको प्रभाव कमजोर हुँदै गएको देखिन्छ । चीन र भारतको तीव्र आर्थिक विकास र शक्तिमा वृद्धिले पनि अमेरिकामाथि चुनौती बढ्दै गएको देखिन्छ । विश्व व्यवस्थामै यसले ठूलो परिवर्तन ल्याइरहेको छ ।

युक्रेन युद्ध अमेरिकाका लागि शक्ति बढाउने एउटा प्रयोग थियो, जुन खासै सफल देखिएन । बरु प्रत्युत्पादक बन्दै गएको छ । अमेरिकाले गरेको लगानी काम नलाग्ने देखिइसकेको छ । त्यसैले अलेक्जेन्डर जेलेन्स्कीहरु जन्माइए तर ‘युज एण्ड थ्रो’को स्थितिमा पुर्याइँदैछन् ।

रुस जस्तो विश्वकै सबैभन्दा शक्तिशाली एटम बम रहेको देशसँग युक्रेनले लडेको बहादुरीका कथा त बुनिएलान् तर उसले ठूलो भूभाग गुमाइसकेको छ । उसका विगतका शक्ति अब कहिल्यै नफर्कने गरी गइसकेको छ । अमेरिकाले युक्रेन युद्धमा पनि ठूलै धक्का खाने अवस्था विकास भइसकेको छ ।

अफगानिस्तानमा अमेरिकी सैनिक फिर्ता भएको सन् २०२१ को दृश्य जति ऐतिहासिक थियो, त्यसले संसारमा उसको दबदबा घट्न लागेको सन्देश गइसकेको थियो । रुसलाई अफगानिस्तानबाट भाग्न बाध्य पार्न तालिवानलाई प्रयोग गरेको अमेरिका त्यही तालिवानका कारण भाग्न बाध्य भयो । त्यसपछि क्रमशः अमेरिकाको शक्ति आरोलो लागिरह्यो । जुन एशिया, अफ्रिका, युरोप र अमेरिकी महादेशहरूमा निरन्तर देखिइरहेको छ ।

अमेरिकी समर्थित मानिएकाहरू सत्ताबाट हट्न बाध्य भएका छन् कतिपय देशमा । उनीहरू निरन्तर दबाबमा परेका छन् अहिले । कुनै बेला अमेरिकाको बलियो प्रभाव रहेका देशहरूबाट उसको व्यापार घट्न थालेको छ ।

अमेरिकी सेना विभिन्न देशबाट हटाउन दबाब पर्न थालेको छ । यो अवस्था आउनु भनेको अमेरिकाको शक्ति ओरालो लाग्नु हो । विश्व व्यवस्थामा आएको परिवर्तनले यी सबै घटना विकास भइरहेको छ । अब अमेरिका संसारको एकमात्र सुपर पावर रहेन भन्ने विश्वमा आएको परिवर्तनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्