Logo
Logo

मधेशमा जनमतको नेतृत्वमा सरकार गठनको तयारी


756
Shares

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका ७ दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन् । उनका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी गरिएको छ ।

उनले भने, ‘आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३ जना सांसदको हस्ताक्षरसहित जाँदैछौँ ।’ उनका अनुसार एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अलावा लोसपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतका सांसदको हस्ताक्षर रहने भएको छ । तर, यादवले दावी गरेअनुसार लोसपा नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसकेको छैन ।

यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी र जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।

एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए । त्यसअघि नै सात दल नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान लागेका हुन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्