Logo
Logo

कुनै समय गालीको वर्षा आउँथ्यो


6.2k
Shares


महिला शसक्तिकरणका विषयलाई मुख्य बिट बनाएर कलम चलाउने पत्रकार महिला कमै छन् । तीमध्येकी एक हुन्, लक्ष्मी भण्डारी । लक्ष्मीले पत्रकारिता अँगाल्दै गर्दा नगन्यमात्र थिए, पत्रकार महिला । तर, अहिले त्यस्तो अवस्था छैन । पछिल्लो सयम पत्रकारितामा थुप्रै महिला सक्रिय छन् । तर, निरन्तरता दिन सक्नु ठूलो कुरा हो ।

लक्ष्मी २३ वर्षदेखि एउटै संस्थामा रहेर महिलाको विषयमा कलम चलाउँदै आएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशित ‘नारी’ म्यागजिनमा सह–सम्पादकको जिम्मेवारीमा रहेर काम गर्दै आएकी लक्ष्मी भन्छिन्, ‘नारीका विषयमा लेख्न पाउँदा खुसी लाग्छ ।’ नारीका आत्माविश्वास, दृढता र उर्जाशील कामहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । पत्रकारिता अध्यापनसमेत गराउँदै आएकी पत्रकार लक्ष्मी भण्डारीसँग रेजिना पाण्डेको जम्काभेट-

तपाइँको पत्रकारिता कहाँ र कसरी सुरु भयो ?
सानैदेखि लेख्ने, पढ्ने मेरो बानी थियो । आरआर क्याम्पसमा पढ्दैगर्दा नै पत्रिकामा लेख्न थालेँ । कान्तिपुरबाट निस्कने ‘नेपाल’ म्यागजिन त्यतिबेला निकै चलेको थियो । त्यो समयमा नेपाल पत्रिकामा लेखहरु लेख्थेँ । पछि ‘नारी’ म्यागजिन निस्केपछि त्यहाँ काम गर्ने अवसर पाए । २३ बर्षदेखि निरन्तर यही पत्रिकामा छु ।

नारी म्यागजिन के उद्देश्यले प्रकाशन सुरु भएको थियो ?
महिलाका आवाज उठाउन अर्थात महिलालाई सशक्तिकरण बनाउने र एउटै थलोमा राख्ने माध्यम बनाउने योजनाले नारी पत्रिकाको उदय भएको हो । नारीको आत्माविश्वास, दृढता र उर्जाशील कामलाई समावेश गरेर प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो सोच थियो । अहिले पनि छ ।

त्यो बेला महिलाका के कस्ता विषय बढी समेटिन्थ्यो ?
जुन समय महिलाका कथाव्यथा, दुःख र यातनाका खबरहरु बढी आइरहेका थिए । महिलाहरु कोठामै सिमित हुनुपर्छ भन्ने धेरैको संकुचित सोच थियो । तर, त्यतिबेला हामीले महिला ‘कठपुलती होइन’, महिलाको आफनै बिवेक र चाहना हुन्छ । उनीहरुल कर्मशील, उद्यमशील र शिक्षित छन् भनेर आवाज उठायौँ । ब्युटिसियनदेखि पाइलटसम्मका सर्घषका कथाहरु लेख्यौँ । जसलाई निरन्तरता दिँदै आएका छौँ ।

पत्रिकामा लेखिएका नारीका आवाज कतिको प्रभावकारी बन्यो ?
नारी पत्रिकामा लेखिने सकारात्मक लेखहरुबाट धेरै महिला प्रभावित भएका थिए । त्यतिबेला नारीले पनि धेरै काम गर्न सक्दोरहेछ है भन्नेहरु थिए । अहिले जस्तो त्यो समय सामाजिक सञ्जालको पहुँच थिएन । तर, त्यो बेला पनि चिठ्ठी पत्रमार्फत सकारात्मक सन्देशाहरु आउँथ्यो ।

नारीका विषयमा लेख्नु त्यो बेला कतिको सहज थियो ?
हामी सबैलाई थाहै छ, महिलालाई हेर्ने नजर कस्तो थियो र छ भनेर । पार्लर खोलेर बसेको महिलाको कथा, टेम्पो चलाउने महिलाको कथा, खाना पकाउने समान्य गृहिणीको कथा उर्तान सहज थिएन । त्यो बेला पनि नारी पत्रिकामार्फत हामीले धेरै सामान्यभन्दा सामान्य महिलाहरुको कुराहरु उठाएका थियौँ ।

दुई दशकदेखि महिलाको विषयमा लेख्दै आउनुभएको छ । यहाँसम्म आइपुग्दा कस्तो रह्यो अनुभव ?
उच्च पदस्थ महिलाको रहन–सहन र मध्यम स्तरका महिलाको जीवनशैली र भोगाइका यर्थातहरु धेरै छन् । तर, कति यस्ता महिलाहरु देखेँ, जो गाह्रो अवस्थामा बाचँेका छन् । तिनिहरुले गरेका संघर्षका कथाहरु उतारेर समाजलाई केही हदसम्म देखाउन सकेकोमा खुशी लाग्छ ।

तपाइँले पत्रकारिता सुरु गर्दा पत्रकार महिलाहरु कति थिए ?
त्यो समय पत्रकारितामा महिला कम थिए । त्यतिबेला बन्दाना राणा, बविता बस्नेत, रमा सिंह, निमर्ला, यशोदा तिमिल्सिना, आचार्य गीता, उषा लोहनी, समिता राणाहरु पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

अहिले धेरै महिला यो क्षेत्रमा छन् । कस्तो लाग्छ ?
खुशी लाग्छ । कति यस्ता बहिनीहरु छन्, जसको कामले मन आन्नद लाग्छ । क्षमता भएका धेरै महिलाहरु यो क्षेत्रमा आएका छन् । यो खुशीको कुरा हो ।

महिला अधिकारका कुरा लेखिरहँदा प्रतिक्रिया कस्तो पाउनुहुन्थ्यो ?
समाज यहि हो । पछाडिबाट त के के भन्छन् के । पछि लागेर साध्य हुँदैन आफनो काम गर्दै हिँड्ने हो । कतै ताली बज्थ्यो भने कतै गालीको बर्षा । समाज यस्तै हो । बषौँदेखि महिलालाई दमन गरेर राखिरहेको समाजमा महिलाहरु माथि उठ्दा कतिलाई पीडा हुन्थ्योे । आज पनि यो अवस्था नभएको होइन ।

अहिले महिला पत्रकारहरुको अवस्था कस्तो देख्नुहुन्छ ?
राम्रो छ । गर्न सक्नेका लागि अवसरहरु धेरै छन् । स्रोतहरु पनि छन् । तर, आफू सिर्जनशील र लगनशील हुन आवश्यक छ ।

पछिल्लो समय सम्बन्धबिच्छेदका धेरै खबरहरु सुनिन्छ, कारण के जस्तो लाग्छ ?
केही समय अघिसम्म महिलाहरु बाध्यताले घरभित्रै खुम्चिएका थिए । उनीहरुसँग शिक्षा, आर्थिक पक्षबाट कमजोर थिए । पुरुषको डर र धम्कीमा चले । तर, बिस्तारै महिलाहरु शिक्षा र आर्थिक रुपमा पनि बलियो हुँदै गए । हदभन्दा बढी सहनु हँदैन भन्ने कुराहरु बुझ्दै गए । अघि बढ्दै गए । कारण जेसुकै भएपनि बिचार नमिल्दा अलग बस्दा केही फरक पर्दैन । एक–अर्काको तनाव बोकेर जीवन खति हुनुभन्दा अलग बस्दा दुवैका लागि राम्रो हो ।

त्यो बेला देखेका र आजका महिलामा के फरक पाउँनुहुन्छ ?
अहिले धेरै परिवर्तन भइसकेको छ । कुनै समय हामीले महिलाका उर्जाशील कथाहरु लेख्दा धेरै मिहिनेत गरेर खोज्नु पर्दथ्यो । तर, आज त्यो अवस्था छैन । शिक्षा, खेल, राजनीति जताततै महिला सक्रिय छन् ।

तर, अझै महिला घर र समाजकै उल्झनमै छन् । यसबारे के भन्नुहुन्छ ?
हो, तर महिलाले पनि आफनो लागि समय निकाल्न जरुरी छ । आफु अगाडि बढ्नका लागि समय मिलाउनुपर्छ । आफुसँग जे क्षमता छ, जे गर्न सकिन्छ, त्यो लाज नमानी गर्नुपर्छ ।

पुस्तकहरु कतिको पढनुहुन्छ ?
म पुस्तक धेरै पढ्छु । विदेशी लेखकदेखि नेपाली लेखकका किताबहरु पढेकी छु । मलाई बिद्रोह, उर्जाशील र चेतनामूलक पुस्तकहरु पढ्न मनपर्छ ।

परिवारलाई कसरी समय मिलाउनु हुन्छ ?
आफुले केही काम गर्नुछ भने त्यसको व्यवस्थापन पनि आफैँले गर्ने हो । बिहान सबेरै उठेर हुन्छ कि ढिलासम्म बसेर हुन्छ । त्यसको व्यवस्था आफैँ गर्नुपर्छ । महिला, त्यसमाथि गृहिणी भएपछि गाह्रो त हुन्छ नै । तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय ।

प्रतिक्रिया दिनुहोस्