Logo
Logo

शाङ्हाइमा शुरुका दिनहरू


5k
Shares

शाङ्हाइ पुगेपछि सरोजसँग उनकै युनिभर्सिटीको होस्टेलतिर लाग्यौँ मनभरी खुसी र उत्साह बोकेर । तर, होस्टेल पुगेपछि जब हामी बस्ने भनिएको कोठा देखेँ, मन फेरि खिन्न भयो ।

विद्यार्थी बस्ने कोठा थियो, त्यो त मलाई थाहा थियो । फर्निचरको नाममा कोठामा एउटा खाट, टेबुल र एउटा दराज मात्र थियो– विद्यार्थीको कोठा यस्तै हुन्छ भन्ने पनि थाहा थियो । तर, ओस्सिएको, रङ् खुइलिएको, दागैदाग भएको भित्ता देखेर भने मन साँच्चै खिन्न भयो ।

यति दुःख गरेर सरोज बसिरहेका होलान् भन्ने सोँचेकी थिइन । पछि, थाहा पाएँ– माथिल्लो तल्लामा होस्टेलको बाथरुम रहेछ । त्यो कोठामा अरु कोही बस्नै नमानेर त्यत्तिकै खाली भएको रहेछ ।

हामी पुग्नु अगाडि सरोज तत्कालीन जाइयर (अहिलेको कङ्गो प्रजातान्त्रिक गणतन्त्र)का विद्यार्थीसँग बस्दा रहेछन् । परिवार आउने भएपछि हतार–हतारमा त्यो कोठा मिलाएको रहेछ ।

शाङ्हाइको यो पहिलो रात नै मन प्रफुल्ल हुन सकेन । तर, विकल्प थिएन । ‘आफ्नो कर्म बर्मा पुगेपनि फेरिँदैन’ भन्ने एउटा भनाई जस्तै भएछ ।

सरोजलाई चीन पठाएपछिको एक वर्ष त झनै दुःख, अभाव र तनावग्रस्त थियो । आफू काम गर्ने स्कूलमा ज्यालादारीको काम थियो– काम गरेको दिनको मात्र हिसाब हुने ।

जति परिश्रम गरेपनि महिनाभरिको तलव ६२५ रूपैयाँ हुन्थ्यो । साथीहरूबाट नै असयोग हुँदा झनै दिक्क र तनाव भोगेको बेला थियो । अहिले चीन जानुभन्दा अगाडिको तस्विर हेर्दा म कति दुब्ली रहिछु, अनुहार कति अँध्यारो रहेछ भन्ने लाग्छ । जाने बेलातिर त झनै तनाव भयो । कहिले भिसाको निम्ति दौडेँ, कहिले पैसाको निम्ति ।

कसैले चीन जाने भए एक्लै जानुपर्छ बच्चालाई लान मिल्दैन भनिदिएपछि त झन् धैरै तनाव बढेको थियो । धन्न भिसा दिने बेलासम्म छोरीको निम्ति पनि बन्दोबस्त भयो ।

होस्टेलमा काम गर्ने ‘फान’ भन्ने अधिकारीसँग सरोजको राम्रो सम्बन्ध रहेछ । उनी छोटो समयको निम्ति कार्यबाहक प्रमुख भएको बेला राम्रो चिठी लेखिदिएका रहेछन् सम्बन्धित ठाउँमा ।

केही समय त्यही कोठामा बस्यौँ । सरोज एकदमै व्यस्त हुनुपर्ने सर्जरीको रेजिडेन्ट । मेरो भने धेरै वर्षपछि एक्कासी फुर्सद भएको अवस्था । न काम थियो, न पढाई ।

सुरुका दिनहरू यसैगरि रित्तै बिते, बच्चासँग खेल्दै । खाना पकाउनु पनि पर्दैनथ्यो । होस्टेल भएकोले त्यहाँकै क्यान्टिनमा खाइन्थ्यो । हामीसँग न भाँडाकुँडा थियो, न चुलो चौका नै ।

चीन जानुभन्दा धेरै अघि नेपाल–चीन मैत्री संघको आयोजनामा सिकेको प्राथमिक तहकै चिनियाँ भाषा पनि बिर्सिसकिएको थियो । तर, पनि बिलकुलै केही नजान्नु भन्दा केही शब्दहरू जान्नुले पनि मलाई मद्दतै भएको थियो ।

दिउँसो एक्लै भएको बेला किताबहरू खोजेर फेरि आफैँले पढ्न सुरु गरें । सरोजको फुर्सद हुँदा सिकाइदिन्थे । आफूले पैसा लगेको थिइनँ । बुढाले पाउने छात्रवृत्ति पनि त्यो बेला थोरै थियो । त्यही एकजनाको छात्रवृत्तिको पैसाले तीनजना पालिनुपर्ने थियो । त्यहाँ पनि दुःखले छोडेन । तर, त्यो दुःख अभावका बीच पनि केही रमाइला क्षण थिए ।

नेपाली विद्यार्थीहरूमध्ये एकजना विनोद रायलाई सबैले सरोजको भाइ भन्दारहेछन् । सरोज जानु अघि नै उनी पनि आफूलाई सरोजकै भाइ हुँ भनेर चिनाउँदा रहेछन्– सरोजलाई तस्बिरमा मात्र देखेको भए पनि । उनी नै हाम्रो आफन्त भए त्यहाँ ।

उनकी चिनियाँ गर्लफ्रेण्ड लिसा पनि हामीसँग नजिकको व्यवहार गर्थिन् । उनैले एकदिन चिडियाखाना घुम्न र फर्किनु अघि रेष्टुराँमा खाने योजना बनाइन् । हामी पनि धेरै खुसी थियौं । बच्चालाई त खुसी लाग्ने नै भयो । भर्खर भर्खर चीन पुगेको, चीनलाई देख्ने रहर मरिसकेको थिएन ।

छुट्टीको दिन थियो । चिडियाखानामा ठुलै भीड थियो । हामी रमाएरै घुम्दै थियौं । मलाई अचानक लाग्यो– स्थानीय चिनियाँहरूको ध्यान चिडियाखानाको जनावरमाथि भन्दा ममाथि छ । उनीहरूको निम्ति म अर्कै लोकको मान्छे भएछु क्यारे । मैले साडी लगाएकी थिएँ । त्यतिबेला असजिलो लागे पनि अहिले सम्झँदा भने हाँसो उठ्छ, रमाइलो पनि लाग्छ ।

चिडियाखाना घुमिसकेपछि विनोद र लिसाले खानको निम्ति एउटा रेष्टुँरामा लगे । हामी दुई जोडी र सानी छोरी थियौँ । चीनको खाना मेरो लागि नौलै थियो । झन् चप स्टिक चलाउन त जानेकै थिएन ।

रेष्टुराँमा अरुको अगाडि खान त्यसै पनि असजिलो लागिरहेको थियो । सरोजले खाना खाँदा खाँदै ठट्टा गर्दै भने ‘ल आज त सर्पको मासु पनि खाने भइयो’ म त तर्सिएँ । मेरो हातबाट चप स्टिक झरेर कता पुगेछ कता ! ‘आ !’ गरेर कराएछु पनि । ‘भो म खादिनँ’ भनेर उठेछु । वरिपरीका मान्छेले मलाई झनै अनौठो मान्दै हेर्न थाले ।

आफ्ना मान्छेहरु भने हाँस्दै सम्झाउन थाले । ‘कहाँ सर्प हुनु ! यो त बाम माछा हो नि ! यो बुट्टा हेर्दा सर्प जस्तो देखिने भएकोले तिमीसँग ठट्टा गरेको’ भनेर सरोजले आश्वस्त पार्न खोजे । तर, सर्पको जस्तो ‘बुट्टा’ भनेपछि झनै खान मन लागेन । यो बिर्सिनै नसकिने प्राक्टिकल जोक भइदियो मेरो निम्ति ।

पछि सरोजको रेजिडेन्सीकै सिलसिलामा अर्को एउटा गाउँको अस्पतालमा काम गर्नुपर्ने भयो– चीनशानमा । त्यहाँ पनि सँगसँगै गयौँ । गाउँको होस्टेलमा अरु सबै उस्तै थियो । नुहाउनको निम्ति भने मेरो निम्ति समस्या नै रह्यो । केटीहरुको कमन बाथरुममा जाने बानी नै नभएर । छुट्टीको बेला गाडी मिलेको बेला शाङ्हाई फर्किँदा घर फर्केको जस्तो लाग्न थाल्यो ।

६ महिनाको भिसा थियो । ६ महिना सकिन लाग्दा म एक्लै फेरि बच्चालाई लिएर फर्किने इच्छा थिएन नै । बरु दुःख सुख गरेर नै उतै बस्ने कोशिस गरेँ । मैले पनि पढ्न पाउँ भनेर निवेदन दिएँ । त्यो सेसन शुरु भएको ६ महिना जति नै भइसकेको थियो । तर पनि मैले आँट गरें मिल्छ भने बीचैबाट भएपनि पढ्छु भनेर । छोरीलाई पनि पढाउने बेला भइसकेको थियो ।

पछिमात्र थाहा पाएँ– हामीलाई नराम्रो कोठा दिएको त म छिटो फर्कियोस् भनेर पनि रहेछ । हामी त्यसरी दुःखै सहेर बस्न थालेपछि स्कूलको प्रशासनका पदाधिकारीहरू पनि प्रभावित भएछन् । मेरो विगतको छोटो इतिहास पनि विस्तारै थाहा पाए । मेरो व्यवहार पनि प्रत्यक्ष देखिसकेपछि मलाई शाङ्हाइमा पढ्न र छात्रवृत्तिको निम्ति समेत सघाए । मैले पनि पढ्न पाउने भएँ ।

पहिले कुनै बेला ‘बुर्जुवा शिक्षा’ बहिस्कार भनेर लागेको मान्छे, १० वर्ष पछि देशमै छुटेको पढाईलाई फेरि निरन्तरता दिन भ्याएको भएर फेरि कलेज जान धेरै असहज भने भएन …।

प्रतिक्रिया दिनुहोस्