Logo
Logo

ललितकलामा ४८२ कलाकारका कला प्रदर्शनी, अवलोकनकर्ताको भीड


189
Shares

काठमाडौं । नेपाली ललितकलाका विविध आयाम बुझ्ने कला प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिसरमा चलिरहेको छ । प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा देशका राजनीतिक, कूटनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, कानुनी क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूले व्यक्तिगत तथा संस्थागततर्फबाट प्रदर्शनीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, विद्यालय तथा कलेजका विद्यार्थीको भीड दैनिकरुपमा बढिरहेको प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनीका संयोजक लालकाजी लामाले जानकारी दिए । उनका अनुसार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा हालसम्म २२ हजारभन्दा बढी दर्शक तथा कलापारखीले प्रदर्शनी अवलोकन गरिसकेका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भावमा गरिएको प्रदर्शनीमा ४८२ कलाकारका करिब ६०० कलाकृति राखिएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमार्फत नेपालमा प्रचलित लोककला, हस्तकला–शिल्पकला, परम्परागत चित्र÷मूर्तिकला, समसामयिक चित्रकला तथा मूर्तिकला, वास्तुकला, अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कला फोटोग्राफी, भिडियो आर्ट, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभङ्गिमा कलालगायतका कलालाई नजिकबाट नियाल्न सहज हुने बताए ।

उनले प्रतिष्ठानले देशका सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ गरेको दिए । उनले नेपाली ललितकलाको सुगन्धको झल्को प्रदर्शनीमा देखिएको सुनाए । कुलपति हार्तम्छालीले भने, ‘नेपाली कलालाई स्थानीय स्तरबाट केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनीले मार्ग तय गरेको छ । यसलाई अझ जनस्तरसम्म लगेर नेपाली समाजमा विकसित कलालाई सामाजिकीकरण गर्दै अर्थतन्त्रमा समेत जोड्नुपर्दछ ।’ उनले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपाली समाजमा प्रचलित विविध कलाको रैथाने स्वादलाई समेत जनसमक्ष ल्याउन सफल भएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले प्रदर्शनीमा सात प्रदेशका विविध कलाका आयाम र विधालाई समेट्ने कोसिस गरिएको बताए । उनले बृहत रुपमा गरिएको यस प्रदर्शनीले नेपाली समाजमा विद्यमान कलाका विभिन्न शैली र चिन्तनलाई बुझ्न सघाउँ पुगेको धारणा व्यक्त गरे ।

समाज रुपान्तरणमा कलाको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्दै प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले नेपालीपनको स्वाद प्रदर्शनीमा पस्किएको बताइन् । उनले सामाजिक रूपान्तरण ः ललितकलाको अभियान भन्ने भावमा रहेर प्रतिष्ठानले नेपालीपनको बोधलाई विशिष्टकरण गर्दै लोपोन्मुख रैथाने मौलिक कलालाई अगाडि बढाइरहेको जिकिर गरिन् ।

प्रदर्शनीका कार्यकारी संयोजक एवं उपकुलपति लामाल नेपाली समाजलाई राष्ट्रिय आवश्यकता र गणतान्त्रिक संस्कृति निर्माणमा ललितकलामार्फत योगदान दिने उद्देश्यसमेत प्रदर्शनीको रहेको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली कला विविध कारणले लोपोन्मुख र हराउनेक्रममा रहेकाले तिनको पहिचान गरी कलाकारलाई समेत जागृत गराई सामाजिक रूपान्तरणको अभियानमा जोड्दै पुनर्जागरण गर्ने ध्येय प्रतिष्ठानले राखेको छ । यस अभियानमा कलाकारको उत्साहजनक सहभागिता र चासो रहेको पाएका छौँ ।’

प्रतिष्ठानले यस वर्षदेखि सुरु गरेको प्रादेशिक प्रदर्शनीले नेपाली ललितकलालाई पुनर्जागरणको चरणमा लगेको सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले जिकिर गरे । नेपाली समाजको कलात्मक चेत र अवस्थालाई प्रदर्शनीमा देख्न सकिने विचार गर्दै उनले कलामार्फत सामाजिक जागरणमा कलाकारले भूमिका निर्वाह गर्ने आधार तय गर्न यो प्रदर्शनी सफल भएको बताए ।

उनले भने, ‘नेपाली समाजमा विकास भएका विविध शैली, चिन्तन र आयामका कलाको पहिचान गरी कलाकारको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको हो ।’ सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा सात प्रदेशको कलाको अवस्था र परिवेशलाई बुझ्न सकिने धारणा व्यक्त गर्दै यस अभियानले कलामा सचेत जागरण ल्याउन मद्दत पुग्ने विश्वास प्रतिष्ठानले लिएको बताए ।

उनले थपे, ‘यो प्रदर्शनीमार्फत प्रतिष्ठानले प्रारम्भ गरेको पहिचान, पहुँच र पहलको माध्यमबाट नेपाली कलामा आगामी वर्ष अझ व्यवस्थित गरिने छ । साथै समाज रूपान्तरणको अभियानमा कलाकारलाई सहभागी गराई राष्ट्रिय आवश्यकतामा जोड्नु पनि रहेको छ ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली समाजलाई युगबोधी चेतना जागृत गर्ने ध्येयका साथ आफूहरूले काम गरिरहेको जिकिर गरे । उनले भने, ‘अहिलेको युगको बोध कलामार्फत गराउने लक्ष्यका साथ प्रतिष्ठानले गतिविधि गरिरहेको र त्यसको एक कडीका रूपमा प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीलाई हामीले लिएका छौं ।’ उनले प्रदर्शनीमार्फत जनस्तरसम्म पुगेर नेपाली समाजमा विद्यमान कला र तिनको महŒवलाई स्थानीय तह, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रिय करण गर्नु रहेको बताए ।

कुलपति हार्तम्छालीले समाज रूपान्तरणमा ललितकलाको पनि योगदान विशिष्ट ढङ्गले चित्रित हुनुपर्छ भन्ने भावका साथ प्रदर्शनी गरिएको र यो प्रारम्भिक चरणमा रहेकाले त्यसतर्फ अगाडि बढ्ने मार्ग बनिरहेको सुनाए । उनले दूरदराजमा रहेका नेपाली ललितकलालाई उजागर गर्नका लागि र ललितकलाकर्मीलाई उत्साह, हौसला जागृत गर्नका लागि पुरस्कारमा विशेष परिवर्तन गरिएको बताए । उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय, विधागत रुपमा राष्ट्रिय, प्रादेशिक उत्कृष्ट, विधागत प्रादेशिक एवं विद्यार्थी विधामा पुरस्कार प्रदान गरिएको जानकारी दिए ।

सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको र त्यसले आगामी नेपाली ललितकला क्षेत्रमा नयाँ मोड ल्याउने जिकिरसमेत गरे । प्रदर्शनी ३० जेठसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्