Logo
Logo

सेनाको द्रुत मार्गमा करोडौंका बेली ब्रिज वेवारिस, छानविन न कारबाही


504
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माण गर्न खरिद गरेका करोडौं मूल्यका बेली ब्रिज वेवारिस बनेका छन् । महालेखाको प्रतिवेदनले खरिद गरिएका १४ बेली ब्रिज पार्टस् मध्ये तीनवटा खियाले खाएर अलपत्र अवस्थामा रहेको तथ्य उजागर गरेको छ ।

आपुर्तिकर्तासँग खरिद गरिएका सामग्री प्रयोगविहीन हुँदा एकातिर राज्य कोषमा क्षति पुगेको छ भने अर्कातर्फ व्ययभार थपेको छ । यतिमात्र नभै आवस्यक भनिएका ब्रिज निर्माण नहुँदा द्रुतमार्ग सडक आयोजना समयमै सम्पन्न हुन बाधा उत्पन्न भएको छ ।

तर करोडौं मूल्यका बेली ब्रिज प्रकरणमा अहिलेसम्म न कसैमाथि कारवाही भएको छ, न छानविन नै । महालेखापरीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा खरिद गरिएका बेलि ब्रिजका पार्टस् उपयोगविहीन बनेका राज्य कोषमा हानी भएको किटान गरिएको छ ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सेनाले ५१ मिटर लम्बाइका १४ सेट बेली ब्रिज र सोको लागि आवश्यक पार्ट्स खरिद गरेको थियो । महालेखाको प्रतिवेदन अनुसार खरिद भएका १४ सेट बेली ब्रिजका पार्टस्मध्ये ३ वटा प्रयोगविहीन अवस्थामा अलपत्र छन् । २०७५ असार ११ गते सेनाले खरिद सम्झौता गरेको थियो । ४१ करोड ४० लाख २३ हजार रुपैयाँमा खरिद गरिएका १४ बेली ब्रिजमध्ये आपूर्तिकर्ताले ८ सेटमात्र जडान कार्य गरेको भेटिएको छ ।

बाँकी रहेका ६ सेटमध्ये ३ सेट ब्रिजिङ महाशाखाबाट जडान भएको छ । तर झण्डै आठ करोड मूल्यका पार्टस्हरु खोकना साइटमा यत्तिकै अलपत्र अवस्थामा छन् । ७ करोड ८५ लाख १३ हजार मूल्यका ३ सेट खियाले खाएको अवस्थामा भेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कोभिड–१९ संक्रमणको अवधिमा प्रयोग गर्न सेनाका युनिट अन्तर्गत खरिद गरिएका करोडौं मूल्यका स्वास्थ्य उपकरण समेत प्रयोगविहीन अवस्थामा रहेको महालेखाले औंल्याएको छ । झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा एक हजार शय्या क्षमताका ७ होल्डिङ सेन्टर निर्माणमा २ अर्ब १६ लाख ३५ हजार खर्च भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

मौजुदा अवस्थामा जडान गरिएका अक्सिजन आपूर्ति उपकरण, शैया तथा त्यस्मा प्रयोग गरिएका अन्य स्वास्थ्य सामग्री समेत प्रयोगविहीन अवस्थामा अलपत्र छन् । २०७८ असार ३ गते ति सामग्री खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्