Logo
Logo

आइजीपी हटाउने ‘मुड’मा गृहमन्त्री


67.7k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक हटाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृहसचिव र आइजीपीले असहयोग गरेको भन्दै हटाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएर विचाराधीन रहेको जाहेरी सर्वोच्च अदालतले झिकाउन माग गरेपछि उनीविरुद्ध परेको पुरक उजुरी बाहिर आएसँगै गृहमन्त्री लामिछानेले आइजीपीलाई हटाउने प्रस्ताव गरेको वालुवाटारनिटक स्रोतले भन्यो ।

गृहमन्त्री लामिछाने सचिव र आइजीपीसँग रुष्ट रहेकै कारण आइतबार कोशी प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुनेक्रममा मन्त्री र सचिव बेग्लाबेग्लै विमानमा विराटनगर पुगेका थिए । मन्त्री लामिछाने ८ बजे बुद्ध एयरबाट विराटनगर गएका थिए भने सचिव र आइजीपी सेनाको हेलिकोप्टरमा गएका थिए ।

‘सूर्यदर्शन सहकारीको पुरक जाहेरी बाहिर आएको र त्यसबारेमा आफूलाई जानकारी नदिएको भन्दै गृहसचिव र आइजीपीले असहयोग गरेको बहानामा हटाउने प्रस्ताव गरेका हुन्, प्रधानमन्त्रीले यो विषय अलि पेचिलो हुन्छ मात्रै भन्नुभयो’,

वालुवाटारनिकट स्रोतले भन्यो । कास्की प्रहरीमा पुरक जाहेरी गत माघमै परेको भएपनि त्यसलाई गोप्य राखिएको थियो । गत आइतबार सर्वोच्च अदालतले पुरक जाहेरी मागेपछि बाहिर आएको छ ।

गत चैतमा राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर कुम जोडेरै बसेका थिए । त्यसबेला कास्की प्रहरी प्रमख एसपी मोहन थापालाई समेत बोलाएर राज्य व्यवस्था समितिको बैठकमा लगिएको थियो ।

सहकारी ठगी तथा विभिन्न विषयमा उनीहरूले समितिलाई जवाफ दिनुपर्ने थियो । बैठकमा दुवै जनाले सांसदहरूको जिज्ञासा मेटाउने काम गरेका थिए । तर, त्यहाँ नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले दिएको जवाफप्रति धेरैको ध्यान जान सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले संसदको रोस्टममा उभिएर सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको जिकिर गरेका थिए । प्रहरीमा त्यसको अनुसन्धान हुँदै गर्दा प्रधानमन्त्रीले संसदको रोष्टमबाटै निर्दोष सावित गरिदिएका थिए ।

जबकि, सीआईबीमा एआईजी किरण बज्राचार्यको नेतृत्व हुँदै गर्दा सहकारी ठगीमा रवि लामिछानेको विषयमा सबै फाइल मगाएर अनुसन्धान शुरु भएको थियो । त्यही कारण बज्राचार्य लगायतको टिमलाई सरुवा गरिएपछि अहिले त्यो अनुसन्धान रोकिएको छ । सूर्यदर्शन सहकारी ठगीमा परेको उजुरीका कारण गृहमन्त्री र आइजीपीबीचको सम्बन्ध चिसिएपछि एआइजी श्याम ज्ञवालीले आइजीपी हटाउनका लागि लविङ गरिरहेको स्रोतको दाबी छ ।

गत साता न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइपछि अदालतले उत्प्रेषण परमादेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र कास्की प्रहरीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन भनेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च नं ३२७५ मिति २०८१ ।१। २४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धी कसुरको द.नं.०८०–८१–०४२६-१२९ मिति २०८०।१०।२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो ब्यहोराको सूचना विपक्षीहरूलाई दिई नियमानुसार पेश गर्नू,’ भनिएको छ ।

सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ । जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्