Logo
Logo

एउटै विवादमा रथिलाई उन्मुक्ति, कर्णेललाई कष्टडी


52.1k
Shares

काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई अमेरिकाबाट नेपाल फिर्ता बोलाई सैनिक कष्टडीमा राखिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले अघिल्लो साता अमेरिकाबाट नेपाल फिर्ता बेलाएर सैनिक कष्टडीमा राखेको हो ।

चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई नेपाल फिर्ता बोलाएर मूख्यालयमा हाजिर गराई कसैसँग भेटघाट गर्न दिइएको छैन ।

भदौ १६ मा घर जान लागेका प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक मूख्यालयमा हाजिर गराइएको हो । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा प्रश्न गर्दै कोही कसैले उजुरी गरेका कारण उनलाई न्यूयोर्कबाट नेपाल झिकाइएको हो । यस्तै प्रकृतिको विवादमा भने एक रथि अशोकराज सिग्देलले उन्मुक्ति पाइरहेका छन् । मल्ललाई भने प्रधानसेनापतिले शर्माले न्यूयोर्कबाट झिकाएर छानवीन गर्ने भन्दै अहिलेसम्म सोधपुछ पनि नगरी राखेका छन् ।

४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रक्षा मन्त्रालयमा पनि उनको उजुरी विचराधिन रहेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा वरिष्ठताका आधारमा सिग्देललाई रथि बनाइसकेका छन् । गत मंसिर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले केही दिन अघि मात्रै रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, रक्षामन्त्री हरि उप्रतिले पनि यसलाई केही गर्न सकेका छैनन ।

उपरथि सिग्देलले राजनीतिक कनेक्सन पनि मिलाइसकेकाले उजुरीमा रक्षा मन्त्रालय अघि बढ्न सकेको छैन ।

वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतले जनाएको छ ।

२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ ।

सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ । सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ ।

त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।

सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।

प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए। सरकारले पाण्डेको राजीनामा स्वीकृत गरिसकेको छ । उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो । त्यस्तो विज्ञप्ति जारी गर्ने सहायक रथि कृष्णप्रसाद भण्डारीलाई अभिलेखालयमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रवक्ता बनाएर शर्माकै पदचापमा रहेका सहायक रथि गौरव केसीलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्