Logo
Logo

मन्त्रीका नयाँ अनुहार


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदका केही सदस्यहरूलाई अदलबल गर्न खोजेको एक साता बितिसक्दा पनि नेकपा एमालेको अवरोधले रोकिएको छ । सरकार टिकाउनका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीका नेता अब्दुल खानलाई मन्त्री बनाउने गरी राखेको प्रस्तावमा एमालेले तत्काललाई असयोग गरेको हो ।

सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रधानमन्त्री प्रचण्डका लागि अहिले भने एमालेले अवरोध खडा गरिदिएको छ । प्रचण्डकै भाषालाई सापटी लिएर भन्ने हो भने ‘सत्ता जोगाउन अनेक उथलपुथल’ गरिरहने भएकाले फेरि अर्को गठबन्धन गर्नका लागि एमालेले सहजीकरण गरिदिएको छ ।

प्रचण्डले १७ महिनाकै अवधिमा कहिले प्रतिपक्षमा रहेकालाई अनेक आश्वासनका साथ विश्वासमा लिएर होस् या आफ्नै गठबन्धनमा रहेका दल फुटाएर वा पटक–पटक मन्त्रिपरिषद् फेरबदल गरेर आफ्नो पद जोगाउँदै आएका छन् ।

अहिले सत्ताको अंकगणित कमजोर हुँदै गएपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति र जनमत पार्टीसँगै केही स्वतन्त्र सांसदलाई समेटेर फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।

प्रधानमन्त्रीले सत्ता टिकाउन गर्ने अनेक प्रयासमा पछिल्लो हतियार– मन्त्रिपरिषद्लाई बनाउन थालेका हुन् । सत्तामा जसरी पनि टिकिरहने भाष्य निर्माण गरेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अहिले आफ्नै दलबाट मन्त्री बनेकाहरूको मन्त्री पद खोसेर साना दल र स्वतन्त्र सांसदलाई बाँड्ने तयारी गरेका छन् । पर्यटनमन्त्री हितमान तामाङलाई हटाउने प्रचण्डको प्रयास रहेको छ । नारायणकाजी श्रेष्ठ पनि खास रोजाईमा छैनन । यही कारण उनले दर्जनौँ पटक मन्त्रिपरिषद् फेरबदल गरिसकेका छन् ।

अब फेरि मन्त्रिपरिषद पुनर्गठन गर्दा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री बन्ने लगभग निश्चित भएको छ ।

सरकारको स्थायित्वका लागि साना दललाई मन्त्रिपरिषदमा सहभागी गराउन लागिएको गठबन्धनका नेताहरूको दाबी छ । उता, अमरेश सिंहलाई पनि मन्त्रीको लोभ देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्