Logo
Logo
अन्तर्वार्ता

प्रचण्ड अस्थिर र धोकेबाज नेता हुन्


उपेन्द्र यादव अध्यक्ष, जनता समाजवादी पार्टी, नेपाल

8.2k
Shares

जनता समाजवादी पार्टी (जसपा), नेपालको महाधिवेशन मधेस प्रदेशको राजधानी जनकपुरधाममा जारी छ । हिजो सोमबारदेखि सुरु भएको महाधिवेशन आगामी बुधबारसम्म चल्ने छ । मधेस आन्दोलनबाट उदाएको जसपा नेपालले ‘एकताको राष्ट्रिय महाधिवेशन’ नाम दिएको छ । जबकि, उक्त पार्टी भर्खरै विभाजित भएको छ ।

प्रतिनिधिसभामा १२ सिट भएको जसपा नेपालबाट अशोककुमार राई समूह ७ सिट लिएर विभाजित भएको छ । राई पक्षलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी गराएर उपेन्द्र यादव पक्षलाई अपमानजनक ढंगले सरकारबाट बाहिरिन बाध्य बनायो ।

मधेसी जनअधिकार फोरमदेखि जसपासम्म आइपुग्दा उपेन्द्र यादवको पार्टी करिब एक दर्जनपटक विभाजित भैसकेको छ । तर, उपेन्द्रको पार्टीबाट विभाजित कुनै पनि पार्टी राजनीतिमा टिकेका छैनन् । विभाजनको श्रृंखला पनि रोकिएको छैन ।
पार्टी विभाजन, आगामी महाधिवेशन र भावी रणनीतिलगायतका विषयमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

भर्खरै मात्र तपाईंको पार्टी विभाजन भयो । महाधिवेशन पनि गर्दै हुनुहुन्छ । अब जनता समाजवादी पार्टी, नेपाल कसरी अगाडि बढ्छ ?
जुन संघर्ष, बलिदानीबाट हामी अगाडि बढिरहेका थियौँ, आज पनि हामीले त्यो मुद्दा उठाइरहेका छौँ । हाम्रो आन्दोलन जारी छ । संघीयता, समावेशिता, पहिचान, प्रतिनिधित्व र उत्पीडित समुदायहरूको मुक्ति र अधिकार, समावेशी लोकतन्त्रको विषय हामीले उठाउँदै आएका हौँ । त्यसलाई अब हामी सदन र सडक दुबै ठाउँमा उठाएर हामी अगाडि बढ्नेछौँ । आगामी दिनमा हाम्रो दायरा अझ फराकिलो हुने छ ।

तपाईं उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्रीको हैसियतमा अमेरिका गएकै बेला पार्टी विभाजित भयो नि ?
त्यो एउटा घृणित काम हो । जुन सरकारलाई हामीले समर्थन गरेर बनाएका थियौँ, त्यही सरकारले धोका दियो । हामीमाथि षडयन्त्र गरियो । हामीले समर्थन नगरेको भए अहिलेको एमाले–माओवादी सरकार बन्ने नै थिएन । त्यो सरकार आफैँले निर्णय गरेर विदेश पठाउने, त्यो पनि संयुक्त राष्ट्रसंघको जनसंख्यासम्बन्धी समिटमा भाग लिन । र, त्यही मौका पारेर, पैसाको खोलो बगाएर सत्ता, स्रोत, साधनको दुरुपयोग गरेर कुनै पनि राजनीतिक दल विभाजन गर्नुभन्दा अनैतिक र घृणित कार्य हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सक्रियतामा पार्टी विभाजन भएको तपाईंको निष्कर्ष हो ?
प्रधानमन्त्री प्रचण्डले मैले दल विभाजन गरेको भनेर सार्वजनिक रुपमै भन्नुभएको छ । सिन्धुलीमा उहाँले त भाषणै गर्नुभयो, सबैले सुन्नुभएको छ । यस्तो अवस्थामा अरुलाई के भन्ने ? त्यो प्रधानमन्त्रीले बोल्ने कुरा पनि होइन र गर्ने काम पनि होइन । असंवैधानिक रुपमा पार्टी विभाजन गर्न लाग्नुको सट्टा गरिबी, बेरोजगारी, भ्रष्टाचार, महंगी निवारणतिर समय लगाएको भए राम्रो हुने थियो । विकास निर्माणको काममा लागेको भए राम्रै हुन्थ्यो । तर, दल फुटाएर दलीय व्यवस्था र लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उहाँ लाग्नुभयो । सत्ता भनेको क्षणिक स्वार्थ हो भन्ने प्रचण्डलाई लाग्यो । उहाँले मित्रघात गर्नुभयो । नाङ्गो चरित्र देखाउनुभयो ।

पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डकै मात्र भूमिका हो कि, प्रमुख सत्तारुढ दल एमाले अध्यक्ष केपी ओलीको पनि षड्यन्त्र देख्नुहुन्छ ?
जनता समाजवादी पार्टी विभाजनभित्र रहस्य लुकेको छ । त्यो के हो भने हामीले संविधान संशोधनको मुद्दा उठाएका छौँ । हामी पहिचान, समावेशिताको राजनीति गरिराखेका छौँ । विभेद र असमानतालाई अन्त्य गर्नुपर्छ, प्रदेशहरूलाई बलियो बनाउनुपर्छ भनिरहेका छौँ । नेपालका शोषित, पीडित समुदाय, मधेसी, आदिवासी, जनजाति, दलित, महिला, थारु, मुस्लिमलगायतलाई अधिकार र समावेशिता अझै पुगेन भनिरहेका छौँ ।

नागरिकताको समस्या समाधान हुनुपर्छ भनेर हामी लडेका छौँ । पहिचान र प्रतिनिधित्वको सवाल हामीले उठाएका छौँ । यसमाथिको प्रहार हो जसपा विभाजन । किनभने, उहाँहरू संघीयताको विरुद्धमा हुनुहुन्छ । जस्तो, कर्मचारी समायोजन ३० दिनभित्र गर्छु भनेर प्रचण्डले भाषण गर्नुभयो । ३० महिना हुँदा पनि काम भएन । संघीयता कार्यान्वयनमा उनीहरूको रुचि नै छैन । प्रचण्ड र ओलीले संघीयता र संविधान समाप्त पार्न चाहिरहेका छन् ।

यसभन्दा अघि पनि ओलीले संघीयता बाहिरबाट आएर लादिएको भनेकै हो । त्यसकारण संघीयता र पहिचानको राजनीति समाप्त पार्नका लागि मधेसको शक्तिलाई कमजोर बनाएर पुनः दासत्वमा दबाएर राख्नका लागि जसपा नै बाधक देखे । जसपालाई कमजोर नपारी आफ्नो प्रभुत्व कायम गर्न सकिदैन भन्ने उनीहरूमा भ्रम रहेछ । त्यो भ्रमवस यो खेल भएको यथार्थ हो ।

तपाईंहरू सरकारमा मात्रै होइन, समाजवादी मोर्चामा पनि सँगै हुनुहुन्थ्यो । यस्तो बेला तपाईंमाथि षड्यन्त्र गर्नुपर्ने के कारण रहेछ ?
त्यसको खास कारण त उहाँले नै बताउनुहोला । तर, जुन विश्वास हामीले गरेका हौँ, त्यमा उहाँले विश्वासघात भयो । प्रचण्डबाट हामीलाई धोका भयो । हाम्रो विश्वासलाई तोड्ने काम भयो । हुन त प्रचण्डले कांग्रेससँग पनि त्यही गरेको हो । एमालेसँग पनि त्यही गरेको हो । माधवजी (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल)सँग पनि त्यही गरेको हो । आफ्नो सँगैको साथीहरूलाई पनि त्यस्तै गर्नुभएको हो । प्रचण्ड अस्थिर र अवसरवादी हुन्। उनको बानी नै धोका दिने रह्यो ।

आज नेपालको राजनीतिमा सबैभन्दा अविश्वसनीय, अस्थिर मानसिकताका कोही नेता छन् भने प्रचण्ड नै हो । गत निर्वाचनपछि नै हेरौँ न । शेरबहादुर देउवा र माधवकुमार नेपालसँग मिलेर निर्वाचन जित्नुभयो । निर्वाचनपछि बालुवाटारबाट बालकोट पुग्नुभयो । केपीको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । राष्ट्रपति निर्वाचनमा केपीलाई धोका दिएर फेरि शेरबहादुरकोमा पुग्नुभयो । गत फागुनमा फेरि शेरबहादुरलाई धोका दिएर केपीकैमा पुग्नुभयो । अहिले हामीलाई पनि धोका दिनुभयो । अब फेरि कहिले केपीलाई धोका दिएर शेरबहादुरकोमा पुग्नुहुन्छ टुंगो छैन । उहाँको नेचर नै धोका दिने हो ।

प्रचण्डले त आफुँ बाँचुन्जेल उथलपुथल भइरहन्छ, जे पनि गरिन्छ भन्दै आउनुभएको छ । त्यसको सिकार जसपा भएको हो ?
सरकार टिकाउन जे पनि गरिन्छ भन्ने कुरा एउटा प्रधानमन्त्रीले भन्न सुहाउँदैन । लोकतान्त्रिक प्रणालीले त्यो नैतिकताले दिँदैन । त्यो मर्यादाले पनि सुहाउँदैन । एउटा प्रधानमन्त्रीले देशमा उथलपुथल गर्ने हो कि देशमा शान्ति सुरक्षा कायम गर्ने, विकास निर्माणको काम गर्ने, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने हो । प्रचण्डलाई विश्वास गर्नु हाम्रो कमजोरी रह्यो । प्रचण्डको कथनी र करनीमा अन्तर देखियो ।

तपाईं अमेरिका उड्नुअघि प्रचण्डसँग केही खटपट भएको थियो र ?
त्यस्तो केही पनि थिएन । उहाँलाई केही लागेको थियो भने भन्नुपथ्र्यो । उहाँले खटपट थियो र मैले जसपा विभाजन गरेँ भनेर त भनेको सुनिदैन ।

तपाईंले कांग्रेससँग मिलेर सरकार ढाल्ने षडयन्त्र गरेपछि पार्टी विभाजन गर्न बाध्य भएको एमाले र माओवादीका नेताहरूको दाबी छ नि ?
यो सरकार त हामीले बनाएको हो । मैले चार दलको बीचमा हस्ताक्षर नगरेको भए यो सरकार बन्ने नै थिएन । त्यो त सत्ताको घृणित काम ढाँकछोप गर्न भ्रम फैलाइएको मात्रै हो । जस्तो जनयुद्धकालमा पश्चिमतिर आक्रमण गर्ने भनेर हल्ला गर्थे अनि पूर्वतिर आक्रमण गर्थे । त्यस्तो भ्रम छर्न विज्ञ भएर आएकाहरू न परे । सरकार मात्रै होइन, राज्यका अंग नै प्रयोग गरेर पार्टी विभाजन गर्ने काम भयो ।

निर्वाचन आयोगप्रति पनि तपाईंको गुनासो हो ?
स्वतन्त्र र निश्पक्ष हुनुपर्ने निर्वाचन आयोग पार्टीको शाखा कार्यालय जस्तो भयो । उदाहरणको लागि एकातिर दल विभाजन गर्ने कानुन छैन । अर्कातिर रातारात दल विभाजनको प्रमाणपत्र दिने काम हुन्छ । जुन कानुनलाई कार्यान्वयन गर्ने भनेर नियमावली बनाइएको छ, त्यो कानुन नै छैन । अघिल्लो दिन साँझ निवेदन दर्ता हुन्छ, भोलिपल्ट बिहान दल दर्ताको प्रमाणपत्र दिइन्छ ।

नेपालको इतिहासमा निर्वाचन आयोगले कहिल्यै यस्तो गरेको थिएन । कमसेकम छानबिन गर्ने, सनाखत गर्ने काम गर्नु पर्दैन ? पहिला पार्टी विभाजन हुँदा निर्वाचन आयोगले फरेड गराएको थियो । मैले किन यसरी दर्ता गर्नुभयो भनेर निर्वाचन आयोगलाई सोध्दा जवाफ आयो–के गर्नु हामीलाई घाँटी समाते, तुरुन्त गर भने । हामी टिक्न सकेनौँ, दर्ता गरिदियौँ । निर्वाचन आयोगको भूमिका आदेश पालकको जस्तो मात्रै भयो । संवैधानिक निकायले आदेश पालकको काम गर्ने कि स्वतन्त्र रुपमा कानुन बमोजिम अगाडि बढ्ने ?

केन्द्र मात्रै होइन, मधेस सरकार पनि जसपा नेपालले गुमायो । साढे ६ वर्षपछि मधेसमा जसपा नेपाल सरकारबाहिर रहने अवस्था बन्यो । अब गाह्रो हुँदैन ?
हाम्रो बहुमत थिएन, त्यसकारण सरकार ढल्न पुग्यो । त्यसमा हामीलाई दुःख छैन । तर, यो राजनीतिक अस्थिरताले कहाँ पु¥याउँछ भन्ने मूल प्रश्न हो । प्रदेशहरूमा अस्थिरता नै अस्थिरता छ । बरु, मधेस प्रदेशमै स्थिरता थियो । अब सबै प्रदेशहरू अस्थिर बनाउने काम भयो । यसले संघीयतालाई कमजोर पार्छ । लोकतन्त्रलाई सिध्याउँछ । अहिलेको संविधानलाई धरापमा पार्छ ।

एकीकृत समाजवादीले समर्थन गरेको भए मधेस प्रदेश सरकार जोगिने स्थिति थियो । तपाईंले विश्वासमा लिन किन सक्नुभएन ?
माधवकुमार नेपाल लाचार हुनुभयो । केही गर्न नसक्ने पोजिसनमा पुगेर आत्मसमर्पण गर्नेबाहेक अर्को बाटो थिएन उहाँको । उहाँले त्यही गर्नुभयो । उहाँले एमालेबाट पार्टी फुटाएको औचित्य पुष्टि गर्न अब सक्नुहुन्न । अप्ठेरोमा साथ दिएको सहयात्रीलाई छाडेर एमालेसँगै घाँटी जोड्न गएपछि कसरी विभाजनको औचित्य पुष्टि हुन्छ ? अब एमालेमा प्रवेश गरेर ओलीलाई नेता मानेर अगाडि बढ्दा नै उहाँहरूलाई राम्रो हुन्छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच चाहिँ कस्तो सम्बन्ध छ नि ?
ओलीसामु प्रचण्ड लाचार छन् । प्रचण्ड ओलीको पेलाइमा परेका छन् । आफ्नो पार्टीभित्र पनि प्रचण्ड लाचार छन् । ओली र प्रचण्डको सम्बन्ध जबर्जस्ती प्रेम गरेजस्तो हो ।

यस्तो सम्बन्ध कति समय टिक्ला त ?
यो क्षणिक हो । यस्तो सम्बन्धले कुनै राम्रो परिणाम दिँदैन । लामो समय टिक्न सक्ने त कुरै भएन ।

अब फेरि प्रचण्डले मिलेरै अगाडि बढौँ, समाजवादी मोर्चालाई अगाडि लैजाऔँ भनेर प्रस्ताव राख्नुभयो भने तपाईं मान्नुहुन्छ ?
उहाँले त्यो विश्वास गुमाइसक्नुभएको छ । समाजवादी मोर्चालाई पोलेर खाइसक्नुभयो । किन फेरि प्रचण्डसँग मिल्ने ? नयाँ ढंगले अगाडि बढ्छौँ ।

माओवादी केन्द्रबाहेक चाहिँ मोर्चा बन्ने सम्भावना छ त ?
अहिले हामीले त्यसबारे सोचेका छैनौँ । हामी पार्टीलाई बलियो बनाएर जान्छौँ । जनजीविका र मुलुकको समस्या समाधानका लागि हामी प्रयत्न गर्छौँ । हाम्रो भूमिका अझ बढेको छ । सदनका साथै सडकबाट पनि जनताका आवाज सशक्त रुपमा उठाउने छौँ ।

अब महाधिवेशनबाट जसपा नेपाल कसरी अगाडि बढ्छ ?
महाधिवेशनले एउटा ठोस नीति निर्माण गर्छ । समावेशी आधारमा नयाँ नेतृत्व चयन हुन्छ । महाधिवेशन प्रतिनिधि पनि समावेशी छन् । हामी सबैलाई समेट्ने प्रयास गर्छौ । र, संगठन निर्माणमा गति पैदा गर्ने गरी अगाडि बढ्छौँ । महाधिवेशनले एउटा दिशा प्रदान गर्छ ।

संविधान सभामा ५२ सिट भएको पार्टी विभाजित हुँदै हुँदै ५ सिटमा खुम्चियो, अब फेरि उठ्न सम्भव छ ?
त्यसो त संविधान सभामा माओवादी पहिलो पार्टी थियो नि । आज कहाँ पुग्यो ? क्रान्तिकारी पार्टीहरूलाई नेपालमा क्रान्तिपछि म्यानेज गर्न गाह्रो भएको छ । तर, विचार, आस्था र जनता हामीसँग छन् । संगठन हामीसँग छ । हामी म्यानेज गरेर फेरि त्योभन्दा अगाडि बढाउँछौँ ।

लोसपाले चाहिँ तपाईंलाई साथ दियो किन ?
लोसपा, हामी र कांग्रेसबीच समझदारी बन्दै जानु भनेको लोकतन्त्रका लागि सकारात्मक पक्ष हो । आगामी दिनमा संघीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन गर्दै अगाडि बढ्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्