Logo
Logo

लघुचलचित्र ‘रित्तो गाउँ’ उत्कृष्ट



काठमाडौं ।  ‘रित्तो गाउँ’ लघुचलचित्र उत्कृष्ट साबित भएको छ । शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्टफिल्म जुरी मेन्सन अवार्ड जितेको हो । 

लघुचलचित्रले सामाजिक कथा बोकेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बनेकाे छ । युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेका छन् । रित्तो गाउँमा यसै विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पूर्ण फिल्म भने काठमाडौंमा आगामी वैशाख १४ गते हुने विशेष शोमार्फत देखाइने निर्माण टिमले जनाएको छ ।

‘रित्तो गाउँ’मा अभिनेता मुकुन भुसाल, पुराना कलाकार सुवास गजुरेल र नवअभिनेत्री सविना राउतलगायतको अभिनय रहेको छ । चलचित्र काभ्रेको पनौती नजिकै रहेको एउटा गाउँमा छायाङ्कन गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको  ‘रित्तो गाउँ’का लेखक तथा निर्देशक रामजी ज्ञवाली हुन् ।

महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भयो । निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए । अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । 

सत्यराज चौलागाईं निर्देशित तथा मुकुल भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’ बाट राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए । उनी ‘रित्तो गाउँ’ का पनि कलर संयोजक हुन् ।

लघुचलतित्रतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुँदिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले जित्यो ।  सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो ।

सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा महोत्सव सम्पन्न भएको थियो । महोत्सवमा लघुचलचित्र  रित्तो गाउँ, दिमाग खराब, नाङ्गो गाउँ, विच्छेद, सतीदेवी, डेसानलगायत चलचित्रहरू  प्रदर्शन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्