Logo
Logo

आफ्ना बन्धक मुक्त गर्न हमासमाथि ‘सैन्य दबाब’ बढाउने इजरायलको चेतावनी



एजेन्सी । गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने चेतावनी दिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना बन्धक सैनिक तथा नागरिकहरुलाई मुक्त गर्न हमासमाथि सैन्य तथा राजनीतिक दबाब बढाउने बताएका हुन् । आफ्ना बन्धकहरुलाई मुक्त गर्ने एकमात्र उत्तम विकल्प हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउने भएको उनको भनाई थियो ।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आएका छन् । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजामा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

उक्त आक्रमणपछि लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । इजरायलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्