Logo
Logo

वेस्ट इन्डिजविरुद्ध नेपालको रोमाञ्चक जित, रोहित पौडेलले बनाए शतक



काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको हो । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको यो टी(२० करिअरको पहिलो शतक थियो ।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एकरएक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।

वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए ।

नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी(२० खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्