Logo
Logo

एसएसपीलाई डिआइजीको फूली लगाउन हतार


13.7k
Shares

काठमाडौं । कार्यसम्पादनमा अब्बल भएपनि तीन एसएसपीलाई डिआजी बन्न हतार भएको आरोप लागेको छ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएसँगै तीन जनालाई हतार भएको आरोप लागेको हो ।

कार्यसम्पादनमा बढुवा भएका र बढुवामा छुटेका मध्ये अब्बल रहेका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई यस्तो आरोप लागेको हो । अघिल्लो ब्याचीलाई बढुवा गरेपनि आउने भदौमा रिक्त रहेको स्थानमा उनीहरूलाई बढुवा गर्न सकिने अवस्था भएपनि गृहमन्त्रालयले अहिले नै बढुवा सिफारिस गर्दा यस्तो आरोप खेप्नु परेको हो ।

उनीहरूको बढुवा सिफारिसपछि राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन भएका अधिकृतलाई नेतृत्वमा पूर्णविराम लागेको छ भने आइजीपीका व्याचीहरूको पनि बढुवामा शंका उत्पन्न भएको छ ।

गृहमन्त्रालयले नेपाल प्रहरीका चार एसएसपीलाई बढुवा सिफारिस गर्दा राअविबाट नेपाल प्रहरीमा आएका टोली छुटेपछि उनीहरूका लागि करिब ८० हजार प्रहरीको नेतृत्व गर्ने सर्वोच्च पद महानिरीक्षक हुने ढोका करिब करिब बन्द भएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल छन् । दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की सिफारिस भएका छन् ।

तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी सिफारिस भएका छन् । चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।

पोखरेल हालका एआइजी दीपक थापाका व्याची हुने भने अन्य तीन जना २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । २०५४ सालमा कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेसँगै प्रहरीको भावी नेतृत्व पनि उनीहरू मध्ये एक जनाले गर्ने निश्चित जस्तै भएको छ ।

प्रहरीमा हाल तीन डीआईजीको दरबन्दी अहिले रिक्त भए पनि यही १० जेठमा अर्का डीआईजी सुरेन्द्र मनौली उमेर हदका कारण अवकाशमा जाने भएपछि गृहमन्त्रालयले उनको ठाउँमा समेत जोडेर चार जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी)कै व्याचका गणेश चन्द, भोला रावल र ध्रुवराज राउतको भने एसएसपीबाटै बिदा हुने सम्भावना बढेको छ ।

तीन मध्ये चन्द भने बढुवाका लागि दौडधुप गरिरहका थिए । अन्य दुईजना विगतमा कारबाहीमा परेकाले उनीहरूले बढुवा लागि खासै प्रभाव राख्न सकेका थिएनन् ।

उनीहरूले अघिल्लो व्याच भन्नुबाहेक कार्यसम्पादन मुल्यांकन कमजोर रहेका कारण डिएसपी बढुवाबाटै पछि धकेलिदै आएका थिए ।

अहिलेको बढुवामा २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका करिब ३ दर्जन एसएसपीहरू प्रतिस्पर्धामा भएपनि २०५२ का एक र २०५४ का तीन मात्रै बढुवाका लागि सिफारिस भए ।

जसमा २०५२ मा बैकल्पिक समूहबाट इन्स्पेक्टरमा प्रवेश गरेका शर्मासँगै २०५४का कार्की, केसी र अधिकारीलाई बढुवा सिफारिस गरिएपछि प्रहरीको भावी नेतृत्वमा पनि २०५४ कै टोलीको सम्भावना रहेको छ ।

शर्मा हालका एआइजी दीपक थापासँगै अवकाशमा जानेछन् । यसपल्टको बढुवामा २०५१का टोलीमा चन्द र राउत छुटेका हुन् । २०५३ को समूहमा भने बढुवामा छुटेको छ । २०५३ को समूहमा डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए । शाह, राठौर, चतुर्वेदीसहित राष्ट्रिय अनुसन्धानबाट आएको टोली नै यसपटकको बढुवामा छुटाइएको छ ।

२०५३ मा इन्सपेक्टर भएका एसएसपीहरु आफूहरु बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ को टोलीलाई बढुवा हुन नदिने लाइनमा भएपनि प्रहरीमा भावी नेतृत्वलाई परिपक्व बनाउनका लागि पनि गृहमन्त्रालयले यसपकटको बढुवामा २०५४ सालको व्याचलाई प्राथमिकतामा राखेको देखिन्छ । कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन् । उनीहरुसँगै बढुवा भएका २०५४ कै टोलीका अधिकारी पनि विवादरहित छन् । २७ कात्तिक २०५२ मा इन्सपेक्टरमा भर्ना भएका कृष्णहरि शर्मा पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए ।

उनी बढुवाको पहिलो नम्बरमा परेका छन् । शर्मा ९ माघ २०७७ मा एसएसपीमा बढुवा भएका थिए । शर्माभन्दा अघि ५ चैत २०५१ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्दले इन्सपेक्टरको नियुक्त लिएका थिए । तर, एसएसपी बढुवामा भने शर्मा सधै पछि थिए । रावल र राउत १२ मंसिर २०७८ मा एसएसपीमा बढुवा भएका थिए । चन्द भने उनीहरु भन्दा पछि २०५३ र २०५४ को टोलीसँगै १ साउन २०७९ मा एसएसपीमा बढुवा भएका थिए । उनीहरु तीनै जना बढुवामा छुटेका छन् । ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुबीच बढुवाका लागि द्वन्द थियो ।

२०५४ को टोली डीएसपी बढुवा हुने बेलामा राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएकाहरु डीएसपी बढुवा भएका थिए । राष्ट्रिय अनुसन्धानबाट आएकाहरु एक वर्ष पहिला भर्ना भएको सिनियर टोली भन्दै २०५४ को टोलीलाई छुटाएर ३० पुस २०६४ मा डीएसपीमा बढुवा भएका थिए । उनीहरुकै कारण २०५४ का टोलीको डीएसपी बढुवा दुई वर्षपछि धकेलिएको थियो । २०५४ को समूह २६ मंसिर २०६६ मा बल्ल डीएसपीमा बढुवा भएका थिए ।

त्यसपछि एसपी र एसएसपीमा भने २०५३ र २०५४ का टोलीहरुको एकै पटक क्रमशः ३१ असार २०७४ र १२ मंसिर २०७८ मा भएको थियो । नेपाल प्रहरीको २०५६ को व्याजभन्दा पछि २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरुले प्रहरीको तालिम गरेका थिए । उनीहरुले तालिम सकेर द्वन्द्वको समयमा कठिन भन्दा कठिन कार्यमा खटिएका थिए । तर राअविबाट नेपाल प्रहरीमा आएकाहरु कहिल्यै पनि द्वन्द्वकालमा खटिनु परेन । उनीहरुले कमाण्ड सम्हाल्ने बेलामा द्वन्द्वकाल समाप्त भैसकेको थियो ।

राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, विमल बस्नेत डिआयजी बढुवाका स्वभाविक दाबेदार थिए । २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे पनि प्रतिस्पर्धी थिए ।

यसैगरी, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलिपसिंह देउवा, सञ्जिव शर्मा दास पनि प्रतिस्पर्धी थिए । यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलिपसिंह र सञ्जिव पनि राअविबाटै २०५८ मा स्थानान्तरण भएका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्