Logo
Logo

यी हुन रुस-युक्रेन युद्धमा मारिएका ३९ नेपाली र ६ बन्धक


2.6k
Shares

काठमाडौं । रुस–युक्रेन युद्धमा हालसम्म ३९ नेपालीले ज्यान गुमाएका छन् । लामो समयदेखि युद्धग्रस्त रुसमा रुसी सेनामा कार्यरत ३९ नेपालीले ज्यान गुमाएका हुन् ।

सरकारले हालसम्म रुसी सेनामा भर्ना भएका २२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी तथ्यांकमा रुस–युक्रेन युद्धमा मारिएकाको संख्या २२ जनामात्रै भए पनि रुसी सेनामा भर्ना भएका परिवारको स्रोतका अनुसार थप १९ नेपालीको मृत्यु भइसकेको छ ।

तीमध्ये ३८ जना परिवारले अन्तिम दाहसंस्कारसमेत गरिसकेका छन् भने एकजनाको शव परिवारले ल्याउने तयारीमा छ । रुसी सेनमा गएका नेपालीका परिवार र आफन्तीहरु ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’सँग जोडिएका छन् ।

अभियानकी अभियन्ता कृतु भण्डारीका अनुसार केहीको शवको फोटो, अस्पतालले पठाएको ‘डेथ सर्टिफिकेट’ र रुसबाट आएको खबरकै भरमा परिवारले मृत्यु भएको कुरा स्वीकारेका छन् । र शवविनै दाहसंस्कार गरेका छन् ।

ज्यान गुमाउनेहरुमा दोलखाका राजकुमार रोका, काठमाडौंका शुक्रबहादुर तामाङ, देवन राई, कास्की, प्रितम कार्की स्याङ्जा, गंगराज मोक्तान इलाम, रुपक कार्की कपिलवस्तु, सन्दीप थपलिया गोरखा, कुन्दनसिंह नागल, दार्चुला, हरिप्रसाद अर्याल स्याङ्जा, राजकुमार गिरी धादिङ रहेका छन् ।

त्यस्तै धनसिंह पुन रोल्पा, पूर्णबहादुर गुरुङ धादिङ, सुन्दर मोक्तान रसुवा, गंगाराम अधिकारी झापा, पदमबहादुर घिमिरे उदयपुर, सञ्जय केसी बाँके, नविन शाही जाजरकोट, जीतबहादुर विक बागलुङ, अनितकुमार शाह महोत्तरी,खगेन्द्र राईका धनकुटा, सोमेश सुनार प्युठान छन् । उनीहरुको मृत्यु सरकारले नै पुष्टि गरिसकेको छ ।

त्यसैगरी, रामकुमार प्रधान मकवानपुर, ओमबहादुर मगर उदयपुर, भुवन पुन मगर म्याग्दी, विराजन विष्ट कञ्चनपुर, लालबहादुर घर्तीमगर प्युठान, सन्तोष विष्ट सल्यान, पूर्वा शेर्पा, साजन गुरुङ लमजुङ, सन्तोष गुरुङ लमजुङ, जितबहादुर पुन दाङ, खोमबहादुर भुजेल ओखलढुंगा, लालबहादुर बुढा रुपन्देही,नेत्रबहादुर घर्ती रुपन्देही, घनश्याम पुन रोल्पा, तेजबहादुर शाही दैलेख, विरवल राई संखुवासभा, टीका राना तेह्रथुम रहेका छन् ।

उनीहरु पारिवारिक स्रोतबाट मृत्यु पुष्टि भएकाहरु हुन् । सरकारसँग रुसी सेनामा गएर घाइते, बेपत्ता भएकाहरुको यकिन तथ्यांक छैन । यद्यपि, परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आएका परिवारको निवेदनका आधारमा सरकारले तथ्यांक संकलन गरिहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका परिवार र आफन्तले सम्पर्कविहीन भएका ९९, घाइते तथा उद्धारका लागि भनेर १४२ जना गरी २८३ जना परिवारले निवेदन दिएका छन् ।

त्यस्तै रुस–युक्रेन युद्धमा सहभागी भएका ६ नेपाली युक्रेनको बन्धकमा छन् भने हालसम्म ६५ जना नेपालीहरु स्वदेश फर्किएका छन् । बन्धक हुनेमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने छन् । युक्रेनले नै उनीहरुको भिडियो सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्