Logo
Logo

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत


189
Shares

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौं फकिएका छन् ।

लुक्लाबाट अपराह्न काठमाडौं आइपुगेका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन व्यवसायीलगायतले भव्य स्वागत गरेका थिए ।

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार कामिरिता शेर्पाले यही जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा ३०औँ पटक पाइला टेकेर कीर्तिमान बनाएका थिए । वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले यसअघि धेरै पकट सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

यो ‘सिजन’मा कामिरिताले गत वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेका थिए । कामिरिताले गत वर्षझैँ यसपटक पनि २ पटक सगरमाथा आरोहण गरेका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका उनका नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा उनी सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । यस वर्षको वसन्त ऋतुमा गत वैशाख २८ गतेदेखि सगरमाथा आरोहण सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्