Logo
Logo

विख्यात अन्वेषक भन्छन्- कौतुहलतालाई मलजल गरे जो पनि अन्वेषक हुनसक्छ


252
Shares

काठमाडौं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले बाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन् । विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरक्रिया गर्दै उक्त कुरा बताएका हुन् ।

स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनीति र विकसित भनिएका देशहरूको संकीर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गरे ।

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै अन्वेषणमा लाग्न प्रोत्साहन दिए । डा. वाङ होउ माङ सन् १९८६ मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुन् ।

ललितपुरको प्रयागपोखरीस्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ माङले ‘अन्वेषण पछाडिको विज्ञान’ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोही केन्द्रका उपप्राध्यापक प्रतिकसिंह ठकुरीसहित अन्य शिक्षकहरू उक्त अन्तरक्रियाका सहभागी थिए ।

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटरभन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाएका थिए । पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरूसहित ती क्षेत्रहरूको भ्रमण गरी उक्त नदीको मूल निक्र्यौल गरेका गरेका थिए ।

अनुसन्धान तथा अन्वेषणको क्रममा उनले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्वसामु उजागर गर्नु भई ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उनको योगदान उल्लेखनीय छ ।

आफ्नो अन्वेषणको आधारमा तीसवटा पुस्तकहरू लेखी सक्नुभएका डा. वाङको कामको विश्व व्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले उनीसँग विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिइसकेको छ भने विश्वप्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उनको कामको विवरण मुखपृष्ठमा छापेको थियो ।

कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजुले गर्नु भएको थियो । कलेजले विद्यार्थीहरूको अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने हेतूले समयसमयमा विभिन्न बाह्य अन्वेषक, प्राध्यापक लगायत बोलाएर कक्षा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्