Logo
Logo

‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ बराललाई


315
Shares

काठमाडौं । यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ ।

पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायकमण्डलले रु २५ हजार राशिको पुरस्कार राससका पूर्वअध्यक्ष बराललाई प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

बुबा पूर्णदीप बराल र आमा मनमाया बरालका ७६ वर्षीय छोरा कोमलनाथ बराल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं २६ मा जन्मिएका हुन् ।

जनादेश साप्ताहिकका पूर्वसम्पादक बरालले विसं २०५६ मा राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारिता सुरू गरेका थिए । उनी राससको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनी हाल प्रेस सेन्टर नेपाल र नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार छन् । बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशको सम्पादकमा रहँदा सहकार्य गरेका थिए ।

यसैगरी ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार धमेन्द्र कर्णलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र समयबोध साप्ताहिकका सम्पादक ५७ वर्षीय कर्ण जनकपुरधाम उपहानगरपालिका वडा नं १० मा जन्मिएका हुन् । बाबु निर्भय शङ्करलाल कर्ण र आमा प्रभावतीदेवी कर्णका छोरा कर्णले विसं २०३६ देखि पत्रकारिता सुरू गरेका थिए ।

यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गर्ने निर्णय भएको सेन्टरका महासचिव पौडेलले जानकारी दिए ।

पत्रकार ढकाल हाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखाको अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य छन् । उनका बुबा राजेन्द्र ढकाललाई विसं २०५५ मा राज्यद्वारा बेपत्ता पारिएको थियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसका दिन आगामी माघ १५ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्