Logo
Logo

स्वास्थ्य चौकी रित्तै, सिटामोल समेत पाउँदैनन् चुरेबासी



किम्तोला । कैलालीको दुर्गम पहाडी गाउँपालिका चुरेका जनता केही महिना यतादेखि स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । दुर्गम पहाडी गाउँपालिका वडा नम्बर–१ स्थित किम्तोलामा रहेको निगाली स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा चुरेबासी स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।

निगाली स्वास्थ्य चौकीबाट डोटीका जोरायल, बडीकेदार र चुरे गउँपालिकाको वडा नम्बर १ र २ का जनताले सेवा लिँदै आएका थिए । उक्त स्वास्थ्य चौकीमा स्वास्थ्कमी नभएपछि त्यहाँ सर्वसाधरणले प्राथमिक उपचार समेत पाएका छैनन् । सामन्य बिरामी हुँदा पनि प्रदेशको अस्थायी राजधानी धनगढी पुग्नुपर्ने उनीहरूको बाध्यता छ ।

स्वास्थ्य चौकीमा आउने बिरामीको संख्या बढ्दै गएपनि उपचार भने गर्न नसकेको निगाली स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारी बताउँछन् । ती कर्मचारीले भने, ‘दैनिक ५० देखि ६० जनाको संख्यामा सेवा लिन आउने गरेका छन् । तर, उनीहरूलाई सेवा दिन सकेका छैनौं, प्राथमिक उपचार समेत असम्भव भइसक्यो ।’

अहिले स्वास्थ्य चौकीमा सिटामोल समेत छैन । चुरेका जनताले यस्तो समस्य वषौंदेखि भोग्दै आएका छन् । स्थानीय सरकारले पनि चुरेबासीको लागि केही गर्न सकेका छैनन् ।

क्लिनिक धाउँदै सेवाग्राही

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि सामन्य उपचारको लागि पनि क्लिनिक धाउनु पर्ने बाध्यता छ । निजी क्लिनिकमा सिटामोलको लागि पनि पैसा तिर्नुपर्ने बताउँदै स्थानीय भोजबहादुर बमले भने, ‘हामी चुरेका जनताले निशुल्क पाउने सिटामोल समेत पाउँदैनौं, मौसममा आएको परिवर्तनले भाइरलका बिरामीहरु बढ्दै गएका छन् । तर, स्वास्थ्य चौकीमा स्वाथ्यकर्मीहरु छैनन् । सटामोलका लागि हप्तौं दिन कुर्नुपर्ने बाध्यता छ ।’

बिहीबार चुरे गाउँपालिका वडा नम्बर २ को कनकिडीबाट दुधे बालकलाई लिएर निगाली स्वास्थ्य चौकीमा पुगेकी यसोदा साउँदले भनिन्, ‘नौं महिनाको छोरोलाई ज्वरो र रुघाखोकी लागेपछि अस्पताल आएको हुँ । तर, अस्पतालमा डाक्टरहरु छैनन् ।’

त्यस्तै दमको औषधी लिन निगाली स्वास्थ्य चौकी पुगेका ६० वर्षीय रामबहादुर साउँदले दुई महिनासम्म पनि आफूले औषधी नपाएको बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा दमको औषघी निशुल्क मिल्थ्यो । तर, दुई महिना भइसक्यो स्वास्थ्य चौकीबाट औषधीनै आएको छैन भन्छन् ।’

यसोदा र रामबहादुर त प्रतिनिधि पात्र मात्रै हुन्, उनीहरूजस्ता सयौं सर्वसाधरण स्वास्थ्य सेवाबाट बञ्चित छन् ।

सरकारले ३३ वटा औषधी निःशुल्क दिने भनेपनि चुरेका जनताले सिटामोल समेत पाएका छैनन् । यता, स्थानीय सरकार र जनप्रतिनिधिहरुले भने यससम्बन्धी कुनै चासो नै राखेका छैनन् । जसले गर्दा चुरे र मोहन्यालका गाउँपालिकाका जनता स्वास्थ्य सेवाबाट बञ्चित छन् ।

निगाली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी इन्र्चज बिक्रम बोहरा दुई महिना अघि औषधी खरिद गर्न गएका थिए । तर, अहिलेसम्म पनि आएका छैनन् ।

भूमा घिमिरे भने सुत्केरी बिदामा छन् । अहिले सागर कार्की खानीडाँडा स्वास्थ्य चौकीमा छन् भने लालीचन्द थारु शान्तिनगर स्वास्थ्य चौकी चुरे ६ बयलामा छन् । निगाली स्वास्थ्य चौकीका करारका एक जना ल्यब असिस्टेन्ट, दुई जना अनमी र दुई जना कार्यालय सहयोगी छन् । स्वास्थ्यकर्मी नभएपछि ओपीडी सेवा दुई महिनादेखि बन्द छ ।

चुरे गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्षसमेत रहेका निगाली स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष हुकुमबहादुर बोहराले भने आफू यस विषयमा अनविज्ञ भएको बताए । यदी, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नभए उनीहरुलाई कारवाही गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्