Logo
Logo

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने कांग्रेसको कसरत



धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने कसरत थालेको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन् ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावलसहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए । प्रधानमन्त्री देउवालाई संसदीय दलका नेता डा. रावलले प्रदेशमा गठबन्धनको आभास नभएको जानकारी गराएका थिए ।
‘सुदूरपश्चिम प्रदेशमा हामीले सरकारलाई सहयोग गरिरहेका छौँ । तर, सरकारले हामीलाई सहयोग गरेन’ प्रधानमन्त्रीसँगको भेटमा काँग्रेस सांसदका नेता रावलले भने ।

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठबन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको रावलले प्रधानमन्त्रीसामु गुनासो गरे ।

‘गठबन्धनको नीति नियमअनुसार अघि बढ्नुपछर्’ प्रधानमन्त्रीलाई भेट्न गएका कांग्रेसका तीनै जनाले एकै स्वरमा भनेका थिए । उनीहरुले
सुदूरपश्चिम प्रदेश कांग्रेसको भाग पर्छ भने पनि चाडै निर्णय लिनुपर्ने बताए ।

उनीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिने आश्वासन दिए । उनले भने, ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नुपर्छ । सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

यस विषयमा शनिबार नै छलफल गर्ने तयारी रहेको र आइतबारसम्म यस विषयमा ठोस निर्णय लिने प्रधानमन्त्रीको मनसाय रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्