Logo
Logo

नेकपाको मोडलमा फोरम र नयाँ शक्तिबीच एकताको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको पहल अघि बढेको छ । एकीकरण अन्तिम चरणमा पुगेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।
नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको छ । वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर नयाँ शक्तिसँग एकीकरण गरेपछि अर्को एकता महाधिवेशनको मिति तोक्ने तयारी भइरहेको बताइएको छ । एकीकरणको विषयमा दुई दलको वार्ता समितिको बीचमा सहमति भइसकेको छ, त्यसलाई पार्टीको आधिकारिता दिनका लागि नयाँ शक्ति नेपालले वैशाख २० गते सचिवालयको बैठक बोलाएको छ ।


बैठकमा फोरम नेपालसँग एकीकरण हुने विषयमा छलफल हुने र त्यसलाई पारित गर्ने नयाँ शक्ति पार्टीका एक नेताले बताए । त्यस्तै त्यही विषयमा छलफल गर्नका लागि फोरम नेपालले वैशाख २१ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठकमा नयाँ शक्तिसँगको एकीकरण र महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहनेछ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।
अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्