Logo
Logo

सुन तस्करीको मुद्दामा सरकारी वकिलले पुनरावेदन दिने




काठमाडौं ।
सुन नै बरामद हुन नसकेको र तस्करी भएको अन्य पर्याप्त प्रमाण नपुगेको भन्दै बहुचर्चित ३८ क्विन्टल सुन तस्करी मुद्दामा अदालतमा उपस्थित भएका सबैले सफाइ पाउने फैसलाविरुद्ध सरकारी वकिलले पुनरावेदन गर्ने भएको छ । गत १९ असोजमा जिल्ला अदालत मोरङले सुन तस्करी मुद्दामा सबैलाई सफाइ दिएको हो ।


सो फैसला आफुहरुलाई चित्त नबुझेको र त्यसमा पुनरावेदन गरिने जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले बताए ।
मुद्दा दायर भएको करिब साढे तीन वर्षपछि जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालले फैसला सुनाउादै अदालतमा हाजिर भएका ५६ जना अभियुक्त्तहरु सबैले संगठित सुनतस्करी अभियोगमा सफाई दिएका हुन । शाक्यको अपहरण र हत्या मुद्दामा प्रत्यक्ष संलग्न गोर भनिने चुणामणि उप्रेती लगायत आठ जनालाई मात्र दोषी ठहर गरिएको हो ।


भन्सार ऐन २०६४मा तस्करी भएको सामान बरामद भएको अवस्थामा मात्र यस्तो सजाय हुने मकसत रहेको तर त्यो अनुसार तस्करीको सामान बरामद हुन नसक्नुलाई सफाइको प्रमुख आधार बनाइएको छ । प्रहरीले ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजार सात सय ९९.५५ केजी सुन तस्करी भएको दाबीसहित भन्सार ऐन २०६४ को दफा ५७ को उपदफा १ च अनुसार अभियोग दायर गरेको थियो । तर, त्यसमध्ये अलिकति पनि सुन बरामद हुन सकेन । हराएको भनिएको साढे ३३ किलो सुन समेत बरामद हुन नसक्दा आरोपीलाई फाइदा भएको हो ।


विमानस्थलबाट सुन तस्करी भएको भन्ने बलिया प्रमाण नहुनुलाई पनि सफाईको आधार बनाइएको छ । विमानस्थलमा कार्यरत थाई एयरलाइन्स तथा नेपाल एयरलाइन्सका कर्मचारीको प्रहरीसँगको साबिती बयान तथा सुन कारोबारसम्बन्धि हिसाबकिताबको डायरीलाई प्रमुख प्रमाणको रुपमा पेश गरिएको थियो । तर, सर्वाेच्च अदालतको एक फैसलाअनुसार निजी डायरीलाई प्रमाण मान्न नसकिने नजिरलाई समेत टेकेर सफाइ दिने निर्णय भएको हो ।


साथै, अभियोगमै त्रुटी समेत फैसलामा औंल्याइएको छ । २०६९ सालदेखि २०७४ सालसम्म पटक पटक सुन तस्करी भएकोमा ‘गोश्वारा अभियोग’ लगायत नमिल्ने फैसलामा उल्लेख छ । कसुरअनुसार छुट्टाछुट्टै अभियोग लगाउनुपर्नेमा एकमुष्ठ अभियोग लगाउन नमिल्ने फैसलामा उल्लेख छ । जिल्ला अदालत मोरङ स्रोतका अनुसार यसरी सुन तस्करी नै भएको प्रमाणित नभएपछि संगठित अपराधको अभियोगदाबी स्वतः नपुग्ने फैसला राय किताबमा लेखिएको छ । फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।


प्रहरीको अनुसन्धानमा एयरलाइन्सका कर्मचारी, विमानस्थल प्रहरी समेत मिलेर ६ वर्षसम्म विमानस्थलबाट संगठित रुपमा सुन तस्करी भएको पाइएको थियो । विमानस्थलका सिसिक्यामेरामा पनि त्यो देखिएको थियो । तर, तस्करी भएको सुन बरामदीतर्फ अनुसन्धान केन्द्रीत नहुँदा मुद्दा कमजोर बन्न पुगेको छ । जसकारण बहुचर्चित मुद्दा अदालतबाट ‘डिसमिस’ हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्