Logo
Logo

‘कर्णाली गरिब छैन’


जितेन्द्र थापा


सुर्खेत । विश्व मण्डलको पूर्वीय गोलार्द । नेपालको मध्यपश्चिम क्षेत्र अनि हिमालको काखमा एउटा स्वर्ग ! वैभवपूर्ण भाषा, भेषभुषा, संस्कृति, परम्परा र इतिहास । अलौकिक स्वर्गीय आनन्दभूमि अर्थात कर्णाली । आखाँले देखिन्छ, तर धित् मर्दैन । जब नजिक पुगिन्छ, आखाँले स्पर्श गर्दै काखमा राखेर चुम्बनले स्वागत गर्छ ।

सुर्खेतको काँक्रेबिहार, देउती बज्यै, बुलबुले ताल, पाण्डवद्धारा निर्मित पञ्चदेवल, प्राकृतिक रुपमा निरन्तर बलिरहने दैलेखको अग्नि ज्वाला, कालिकोटको अग्लो छागाँबाट कलकल बग्ने पचाल झरना, हुम्लाको प्राचिन परम्परा अनि भेषभुषा, मुगिस्थित स्वर्गकी अप्सराझैँ लाग्ने रारा ।
डोल्पाको कन्चन फोक्सुण्डो, जुम्लाको पाइला पाइलामा स्पर्श गर्न मिल्ने खस भाषाको उदगमस्थल खस सभ्यता, रुकुमको स्यार्पु ताल, सल्यानको कुपिण्डे दह अनि जाजरकोटको स्वर्णिम गाउँले जीवन सायदै वर्णन गर्न सकिन्छ ।

कर्णालीका उकाली–ओराली, भञ्ज्याङ्ग अनि चौतारीहरुमा चल्ने शिर्रशिर्र हावा र पखेरुहरुमा निश्चिल बगिरहने कलकल झरनाले जब स्पर्श गर्छ, तब मनले भन्छ– ‘स्वर्ग छ भने त्यो कर्णाली हो !’ तर, कर्णाली गुमनाम छ । दुनियाँको मानसपटलमा कर्णाली अर्थात् दुर्गम, अभाव र दुःखमात्र हो ! यहाँको गौरवशाली इतिहासले संरक्षण खोजेको छ, वैभवशाली प्राकृति छटाले प्रचार चाहेको छ ।

कर्णालीको इतिहास सारालाई सुनाउनु छ, यहाँका प्राकृति छटाहरुमा दुनियाँलाई लुटपुटाउनु छ । त्यो पनि कर्णालीकै माटोमा हुर्केकाहरुले । आज भास्कर अर्थात कर्णालीको छोरो दुनियाँलाई कर्णाली चिनाउन निस्केका छन् । दुनियाँका पाउलाई कर्णालीमा निम्तो गरिरहेका छन् ।

कर्णाली चिनाउने अभियान

भास्कर बस्नेत कर्णालीका छोरा हुन् । जो कर्णालीको सम्भावना मात्र खोज्दैनन् । सिँगै कर्णाली विश्वको आँखासामु राख्न चाहन्छन् । थुप्रै स्वदेशी विदेशी पाहुना आँगनसम्म ल्याउन चाहन्छन् । यहाँको वास्तविकता मात्र होइन, आवश्यताको सक्कली रुप सबैसामु छरपस्ट पार्न चाहन्छन्, तस्बिरबाटै यहाँका समस्या औँल्याउन चाहन्छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा ६ छाछुमा जन्मेका भास्कर क्यामेराको लेन्समा आफ्नो र कर्णालीको भविष्य देख्छन् । क्यामेरामा कर्णाली अटाउन भास्करले कर्णालीका आठ जिल्ला साइकलमार्फत फन्को मारिसकेका छन् ।

उच्च शिक्षाका लागि काठमाडौं छिरेका भास्करलाई काठमाडौंले लोभ्याउन सकेन । कर्णालीको मायाले कर्णाली नै फर्कायो । भास्कर एक्लै फर्केनन, आफूसँगै धेरैलाई कर्णाली पुर्याए । साइकल यात्रामा भास्करसँगै कर्णाली पुगेका धेरैले कर्णालीको रसस्वादन गरे ।

धेरैलाई कर्णाली दुर्गम लाग्छ । तर, भास्करलाई त्यस्तो लाग्दैन । उनले कर्णालीलाई नजिकबाट धित् मरुन्जेल हेरेका छन्, क्यामेरामा कैद गरेका छन्, कर्णालीका तस्बिरहरु मन मस्तिष्कमा सजाएका छन् । चाहेको बेला फोटोका एल्बमहरुझैँ पल्टाएर हेर्न सक्छन् । कर्णालीलाई धित् मरुन्जेल हेरेका भास्करले कर्णालीको विकटता, रोग, भोक र पीडा बुझेका छन् । सँगै समृद्ध कर्णालीको दृश्य पनि देखेका छन् ।

साइकलमा सरर कर्णाली

भास्करले कर्णालीका आठ जिल्ला साइकलबाटै फन्को मार्दै नियालेका छन् । कर्णालीलाई साइकल पर्यटनका लागि उत्कृष्ट गन्तव्यको रुपमा चिनाउने उनको चाहना हो । काठमाडौँबाट १७ जना साइक्लिस्टसहित ‘अल्टिमेटम राइड टु’ नामक साइकल यात्राको नेतृत्व गर्दै २०७५ मा फोकसुण्डो ताल पुगे ।

३ हजार ६ सय ३५ मिटर उचाइमा रहेको डोल्पास्थित फोक्सुण्डो तालसम्मको साइक्लिङ सहज थिएन । तर, कर्णाली चिनाउने हुटहुँटीले साइकलबाटै फोक्सुण्डो पुर्यायो । कर्णालीकै दुर्गम डोल्पाको त्यो उचाइमा पुग्दा भास्करले संसार जितेको अनुभूत गरे । डोल्पाको फोक्सुण्डोसम्म पुग्ने पदमार्गको नामाकरण ‘थिन्ले’ होस् भन्ने उनको चाहना छ । थिन्ले लोण्डुप ओस्कार अवार्डका लागि मनोनय भएको पहिलो नेपाली चलचित्र ‘क्याराभान’का मुख्य पात्र हुन् ।

सिँगो कर्णाली क्यामरामा अटाउने चाहना
साइकलमार्फत सरसर्ती कर्णालीलाई फन्को मारिरहेका भास्कर सिँगो कर्णाली क्यामेरामा कैद गर्न चाहन्छन् । उनी तस्बिरहरुमार्फत कर्णाली चिनाउन चाहन्छन् । चाहेर पनि कर्णाली पुग्न नसकेकाहरुलाई तस्बिरबाटै कर्णाली घुमाउन चाहन्छन् । तस्बिरहरुबाट नै कर्णाली समृद्ध छ भन्न चाहन्छन् । भास्करले कैद गरेका तस्बिर हेर्दा वाह ! कर्णाली नभन्ने सायदै होलान । भास्करको लेन्स उतै सोझिन्छ, जहाँ कसैले नदेखेको र कसैले स्पर्श नगरेको ‘भर्जिन’ प्राकृतिक सौन्दर्य छ !

प्रर्दशनीमार्फत दुनियाँलाई देखाउने सोच

भास्करको ग्यालरीमा कर्णालीका सयौँ दृश्य छन् । दुनियाँले नदेखेका धेरै दृश्य भास्कर र भास्करको क्यामेराले देखेको छ । तर, उनी त्यतिमा मात्रै सिमित हुन चाहन्नन् । आफ्ना तस्बिरहरु दुनियाँलाई देखाउन चाहन्छन् । फोटो प्रर्दशनी गर्ने उनको सोच छ । प्रर्दशनीमार्फत दुनियाँलाई कर्णाली चिनाउने हुटहुटी छ । कर्णालीको पर्यटकीय सम्भावना उजागर गर्न प्रतिवद्ध छन् ।

कर्णाली गरिब छैन : भास्कर

दुनियाँले देखेको कर्णाली विकट र गरिबीमात्र हो । तर, त्यसो होइन । कर्णालीलाई विकट र गरिबीको पर्याय बनाइनु हुन्न । कर्णालीमा गरिबी, रोग र भोकमात्र छैन । यहाँ प्रकृतिको अनुपम छटाहरु कति छन् कति । सम्भावनाको मुल कर्णालीमै छ । विगतमा कर्णालीको रोग र भोकमात्र देखाइयो । अब म कर्णालीको वैभवशाली इतिहास र सौन्दर्य दुनियाँलाई देखाउने छु । कर्णालीको भौगोलिक विकटता स्वीकानुपर्छ । तर, यहाँका प्राकृतिक सौन्दर्यमा आधारित सम्भावना नकार्न सकिँदैन ।

छैन कसैको साथ

कर्णालीका पर्यटकीय गन्तव्यको प्रचारमा सरकारले ठूलो धनराशी खर्च गर्दै आएको छ । प्रदेश र स्थानीय सरकारले लगानी गरिरहेका छन् । भास्करजस्तै स्वअभियानमा जुटेकाहरुलाई कसैको साथ छैन । तर, भास्कर हार्ने मनस्थितिमा छैनन् । भन्छन्– ‘कर्णालीको सक्कली मुहार तस्बिरबाटै दुनियाँलाई देखाउने मेरो अठोट छ । कत्ति पनि विचल्लित हुने छैन । एकदिन दुनियाँलाई कर्णाली चिनाउने छु ।’

प्रतिक्रिया दिनुहोस्