Logo
Logo

ओलीद्वारा परमादेश दिने ५ न्यायाधीशको राजीनामा माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशमा सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सत्ताबाट बहिर्गमन र पार्टी बिभाजनको भएको दुख भोगिरहेको एमालेको पालिका स्तरको अधिवेशन आज भर्चुअल माध्यमबाट आज उदघाटन गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा गर्न नसक्ने प्रधानन्यायाधीश मात्रै नभई सरकार गठनका लागि परमादेश दिने न्यायाधीशले समेत राजीनामा दिनुपर्ने बताए ।

‘परमादेशमा सरकार गठनको आदेश दिने प्रधानन्यायाधीश, न्यायाधीशहरुको हालत हेरिराख्नुभएको छ । प्रधानन्यायाधीश मात्रै किन ? परमादेशबाट सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका न्यायाधीशले समेत राजीनामा दिनुपर्छ’ ओलीले भने ।

न्यायालय र अहिले सरकारमा रहेकाहरुको बीचमा भएको पूर्व सहमती अनुसार नै एमालेको सरकारलाई ढाल्ने काम भएको उनले आरोप लगाए । साठगाठ गरेर एमालेको सरकार ढाल्ने काम भएको भए पनि अगामी निर्वाचनबाट फेरि पनि एमालेको सरकार गठन हुने दावी उनले गरे ।

अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको दाबी गर्दै भने, ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन्, एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन् । हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’

उनले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताए । सरकारमा रहेकालाई समृद्धीको बारेमा सोच्ने फुर्सद नभएको बताउँदै उनले राजदुत फिर्ता, कर्मचारी सरुवा बढुवा आतंक मात्रै चलिरहेको बताए ।

‘देशलाई सामाजिक न्याय, शान्ति सुव्यवस्था र मानवीय मूल्यको मर्यादा समेतका आवश्यकतालाई हासिल गरेर समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा हाम्रो पार्टी लागिरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीमात्रै लागिरहेको छ ।’

आगामी निर्वाचनबाट एमालेको सरकार गठन हुनेमा ढुक्क हुन आग्रह गर्दै उनले सोही अनुसारको तयारीमा जुटन निर्देशन समेत दिएका ।

प्रतिक्रिया दिनुहोस्