Logo
Logo

‘प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन’



काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ ।’

यता, सर्वोच्च अदालतमा कार्यरत कर्मचारीका ४ छुट्टा छुट्टै संगठन (ट्रेड युनियन)ले पनि प्रधानन्यायाधीशले समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालत, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामति कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशसहित अरु न्यायाधीशहरु जिम्मेवार भइ समस्या समाधान गर्नुपर्ने माग गरेका हुन् ।

कर्मचारी संगठनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘अदालत भित्र देखिएका विकृति, विसंगतीको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भइ गम्भीरतापूर्वक, अविलम्ब समुचित समाधान गर्न जोडदार माग गर्दछौं ।’

प्रधानन्यायाधीश र न्यायाधीशहरुबाट समस्या समाधानको पहल नभए न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिरु आन्दोलनका कार्यक्रम अघि बढाउने पनि उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्