Logo
Logo

मंसिरभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्न देउवाको आग्रह


252
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उनले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

कांग्रेसले यस अघि निर्धारण गरेको महाधिवेशनअन्तर्गत स्थानीय तहका सबै अधिवेशन समय मै हुन नसक्दा कार्यतालिका केही प्रभावित भएपछि महाधिवेशन कार्यतालिका परिमार्जन गर्नुपर्ने देखिएको छ ।

हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन कहिले सुरु गर्ने भन्ने समितिको जिज्ञासामा सभापति देउवाले अधिवशेनको मिति परिमार्जन गर्ने अधिकार समितिको भएको उल्लेख गर्दै छठपछि गर्दा उपयुक्त हुने सल्लाह दिएका थिए ।

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा प्रकाशशरण महत उपस्थित थिए ।

कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको छ । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो । कांग्रेसले हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भइ केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्