Logo
Logo

५ लाख परिवारलाई ५ अर्ब बाँड्न बाटो खुला



काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

चालू आर्थिक वर्ष २०७८र७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू। ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।

यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले त्यससम्बन्धी कार्यविधिलाई स्वीकृत दिन आनाकानी गरिरहेको थियो । अहिले परिमार्जनसहित कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्नसहित गरीब परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

अब ५ लाख परिवारलाई रकम बाँड्दा ५ अर्ब रुपैयाँ खर्च हुनेछ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएसँगै तिहारअगाडि नै पैसा बाँड्ने बाटो सरकारलाई खुलेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्