Logo
Logo

भारतीय बजारमा नेपाली ग्राहकको घुँइचो



धनगढी । तिहार नजिकिएसँगै कैलाली र कञ्चपुरबाट नजिकै रहेका भारतीय बजार बनगाँउ, तिकुनीया, पलिया, सुडा तथा बनबाँसामा नेपाली ग्राहकको घुइँचो लागेको छ ।

नेपाली बजारभन्दा केही सस्तोमा सामान पाइने भएकाले धेरै उपभोक्ता भारतीय बजारसम्म पुग्ने गरेका छन् । गौरीफन्टा नाका हुँदै उनीहरू भारतीय बजारमा खाद्यान्न, दाल, चिनीदेखि लुगाकपडा किन्न जाने गर्छन् । नेपालीहरु घरायसी सामानका साथै विलासिताका सामग्री किन्न समेत भारतीय बजारमा निर्भर देखिन थालेका छन् । नेपाली उपभोक्ताहरु खासगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, टेलिभिजन, फ्रिज आदि किन्न भारतीय बजार जाने गरेका छन् ।

धनगढी मटयारीकी शारदा खत्रीले तिहारका लागि सामान वनगाउँ बजारबाट किनेको बताइन् । ‘नेपालभन्दा भारतीय बजारमा सामान सस्तो पाइने भएकाले उतै जाने जान्छौं,’ उनले भनिन्, ‘चिनी, दाल, कपडा धनगढी बजारको भन्दा सस्तो पाइन्छ ।’

चाडपर्वका बेला धनगढीबासी पनि वनगाउँ बजार पुग्ने गरेका छन् । कोरोना संक्रमणका बेला बन्द भएका भारतीय बजार खुलेपछि फेरि नेपालीहरू उतै जान थालेका हुन् ।

धनगढीकी सीता चौधरीले पनि दशैंमा बच्चाहरूका लागि तथा घरपरिवारको लागि लुगा किन्न वनगाउँ बजार गएको बताइन् । उनले भनिन्, ‘धनगढीमा १ हजार पर्ने सुटलाई ४/५ सयसम्म दिन्छन ।’

उनले नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो कपडा पाइने भएपछि साथीहरूसँग वनगाउँ बजार आएको बताइन् । धनगढी बजारमै सस्तोमा सामान पाइने भइदिए दुःख गरेर भारतीय बजारसम्म पुग्नु नपर्ने उनको भनाइ छ । दशैंमा तिहार, छठ तथा विवाह भोजका लागि सामान किन्नु पर्ने भएमा धेरै नेपालीहरू भारतीय बजारमा जाने गरेका छन् । कोरोनाको जोखिम कायमै भएका बेला उनीहरू जोखिम मोलेरै भारतीय बजार जाने जान्छन्। भारतीय बजारमा कैलाली र कञ्चनपुरबाट मात्रै नभएर सस्तो सामान पाउने भन्दै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरू भारतीय बजार जाने गरेका छन् ।

किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले केही रुपैयाँ सस्तो सामान पाउने भन्दै नेपालीहरू भारतीय बजार जाने गरेको बताए । उनले भने, ‘सस्तोमा सामान पाइने भएपछि गुणस्तरमा ध्यान दिँदैनन् । हामीले भन्सार कर तिरेर सामान ल्याउने हुँदा केही महँगो हुन्छ । त्यसैले दुईचार रुपैयाँ सस्तो पर्ने भएकाले नेपालीहरु भारतीय बजार धाउने गर्छन् ।’

केही साना व्यापारीहरूले पनि फलफूल तथा तरकारीहरू भारतबाट ल्याउने गरेका छन् । यसरी भारतबाट आउने सामानमा गुणस्तरीय भने नहुने कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले खाद्यान्न तथा अन्य सामानहरूमा गुणस्तीयता भने नहुने बताए ।

‘धनगढी बजार छोडेर भारतीय बजार जाँदा नेपाली बजारमा पनि असर पर्छ,’ उनले भने, ‘यसका लागि भन्सार कार्यालय कैलालीले पनि कडाइ गर्नुपर्छ । भारतीय बजारमा नेपाली उपभोक्ता जाने गरेमा यसले नेपालको अर्थतन्त्रलाई पनि असर पर्छ ।’ भन्सारबाट यसरी भित्रिने सामानमा प्रशासनको ध्यान जानुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्