Logo
Logo

मल अभावमा समयमै बाली छर्न पाउँदैनन् किसान



धनगढी । कैलाली र कञ्चनपुरमा मल अभाव हुँदा समयमै बाली लगाउन नपाएको किसानले गुनासो गरेका छन । यस्तो समस्या दुई तीन वर्षदेखि हुँदै आएको छ ।

दुई जिल्लाका किसानले गहुँबालीमा छर्नका लागि मल पाएका छैनन् । गहुँ छर्ने तयारीमा रहेका किसान यतिबेला मलको जोहोमा जुटेका छन् । तर कैलालीमा मलको मौजदात नहुँदा किसानले मल पाउन सकेका छैनन् । मल नपाउँदा बाली समयमै छर्न नपाएको धनगढी मटयारीका किसान किसन चौधरीले गुनासो गर्छन् ।

यो आलु, मसुरो र तोरी छर्ने याम हो । किसान यसैमा व्यस्त छन् । तर, मल नपाउँदा कतिपय किसानले आलु, मसुरो र तोरी मलबिनै छरेका छन् । उनीहरु गहुँ बालीका लागि मलको जोहो गर्न जिल्ला भित्रका विभिन्न सहकारी र संघसंस्था धाइरहेका छन ।

गोदावरी नगरपालिका खैरानाका किसान रमेश मल्ल गहुँ बालीमा छर्नका लागि रासायनिक मल नपाएको गुनासो गर्छन् । ‘आलु, तोरी र मसुरो मलबिनानै छरेका छौं । तर, गहुँ बाली छर्नका लागि मल अतिनै आवश्यक छ’, उनले भने ।

मल खोज्न उनी अत्तरियाका विभिन्न सहकारी संस्थामा पटक–पटक पुग्छन् तर सहकारीले मल छैन भन्दै फर्काउने गरेको छ । आलु र तोरी छर्दा मल नपाएका मल्ललाई गहुँ बाली छर्ने बेलामा पनि मल नपाइएला कि भन्ने चिन्ता छ ।
धान काटेका खेतहरु सुकिसकेका छन् । पुर्नवास नगरपालिकाका किसान धर्म साउँद गहुँ छर्ने बेला समस्या नहोस् भनेर तिहारको रमाइलो छोडेर मलको खोजीमा लागेका छन् । अहिले उनी मात्रै होइन थुप्रै किसान मलको जोहो गर्न गाउँ र शहरका विभिन्न सहकारी संस्थाहरु धाइरहेका छन ।

अहिलेनै मलको जोहो गरिराखे गहुँ छर्ने बेला सजिलो हुन्थ्यो, उनले भने– ‘तर सहकारीमा मल आएकै छैन । पोहोरसाल पनि गहुँ छर्ने बेला मल नपाएर समय सकिएपछि गहुँ बाली छरेको हुँ ।’

गौरीगंगा नगरपालिकास्थित बेरोजगार कृषक सहकारी संस्था, टीकापुरस्थित उज्यालो सहकारी संस्था, भजनीस्थित जागरण कृषि सहकारी संस्था लगायत कैलालीका विभिन्न सहकारी संस्थाहरुमा मलका लागि किसानको भीड देखिन्छ । सहकारीका पदाधिकारी पनि मल लिन धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धाइरहेका छन् । उनीहरु भन्छन्– ‘मल त पाउछौं । तर, थोरै । जसले गर्दा मल वितरणमा समस्या भइरहेको छ ।’

कैलालीको गौरीगंगाको बेरोजगार कृषक सहकारी संस्थाले कृषि सामग्री कम्पनी लिमिटेडबाट आइतबार ४० क्वीन्टल युरिया पाएको छ । तर थोरै मल पाएकाले वितरण गर्दा उल्टै समस्या भएको सहकारीका पदाधिकारी बताउँछन् ।

बेरोजगार कृषि सहकारीका उपाध्यक्ष सिद्धराज सापकोटाले भन्नुभयो– एउटै किसानलाई ५–७ क्वीन्टलसम्म मल चाहिन्छ । ४० क्वीन्टल लगेर कसलाई दिने, कसलाई नदिने । बाँड्दा लुछाचुडीले उल्टै झगडा पर्ला भन्ने डर भएको उनले बताए । कृषि सामग्रीले थप मल तिहारपछि आइपुग्ने भनेर फर्काएको सापकोटाले बताए ।

विगतका वर्षमा यतिबेला कृषकलाई खेत जोत्न र गहुँबाली लगाउन भ्याइनभ्याइ हुन्थ्यो । कार्तिक पहिलो साता भएको भारी वर्षाले यसपालि भने खेत नसुक्दा गहुँ छर्न केही ढिलो हुने देखिएको छ । खेत सुकेपछि गहुँ छर्ने पर्खाइमा रहेका किसान मलको खोजीमा जुटेका छन् तर कैलाली र कञ्चनपुरमा रासायनिक मलको चरम अभाव छ ।

अहिले मसुसो, तोरी र आलु लगाउन पनि मल नपाएको किसानको गुनासो छ । गत सिजनमा रोपाइका बेला सहकारीमा घण्टौसम्म लाइन लागेर आवश्यकताअनुसार मल नपाएका किसान यसपालि पनि त्यस्तै समस्या भोग्नुपर्ला भन्ने चिन्तामा छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडमा मलको मौजदात न्यून छ । कार्यालयले यो सिजनका लागि पाँच हजार टन युरिया माग गरेको छ । तर, अहिलेसम्म १ सय १५ टनमात्र आइपुगेको छ । त्यसमध्ये कार्यालयमा अहिले ७० टनमात्र मौजदात छ ।

यता कम्पनी लिमिटेको कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले अहिलेसम्म मल नआएको बताए । उनले हिउँदे बालीका लागि यहाँ आवश्यक पर्ने ६ हजार टन डीएपी मल केन्द्रसँग माग गरिएको जानकारी दिए ।

युरिया केही आउन थालेको छ । डीएपी यो महिनाको अन्तिमतिर आउने जानकारी केन्द्रबाट आएको छ, बोगटीले भने– हाम्रो गोदाममा मल मौजदातनै छैन । केही मात्रामा रहेको युरिया दुई दिनमै वितरण गरेर सकिन्छ ।

कैलालीमा तीन सय सहकारीमार्फत् अनुदानको मल किसानलाई बिक्री हुँदै आएको छ । अन्न उत्पादन भण्डारको रुपमा रहेको यो जिल्लामा ३५ हजार हेक्टरमा गहुँ तथा २२ हजार हेक्टरमा मसुरो र तोरी खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्