काठमाडौं । अरबौं आयकर छल्ने एनसेलले राज्यलाई अन्य किमिसका करमा पनि ठगी गर्दै आएको पाइएको छ । सम्पत्ति कर समेत उसले छलेको भेटिएको छ ।
ललितपुर महानगरपालिका– ४ मा एनसेलको १० रोपनी चार आना जग्गा तथा त्यसमा २३ हजार ८८ वर्गफिट क्षेत्रफलको दुई वटा घर छन् । यसको सरकारी मूल्याङकन २७ करोड ९५ लाख रुपैयाँ छ । तर, जम्मा ५ करोड ६० लाख मूल्याङकन गराएर सम्पत्ति कर छली भएको छ । यसरी उसले ५६ लाख चार हजार रुपैयाँ कर छली गरेको छ । अब सम्पत्तिको हरेक वर्ष स्थानीय तहलाई कर बुझाउनुपर्ने हुन्छ । तर, एनसेलले केही वर्षयता यस्तो करमा राज्यलाई ठग्दै आएको छ ।

महानगरका केही कर्मचारीलाई प्रभावमा पारेर त्यसरी कल छली हुँदै आएको छ । यो विषयमा पछिल्लो समय विभिन्न निकायबाट छानबिन भइरहेको स्रोत बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे यसमा महानगरपालिकाका कर्मचारी पनि फस्ने निश्चित छ ।
एनसेलले ग्राहकलाई ठगी गरेको अरबौं रुपैयाँ पनि फिर्ता गरेको छैन । डाटा प्याक लिएका ग्राहकलाई ब्यालेन्स सकिँदा पनि बिना माग पैसा सापटी दिएर उसले ठगी गरेको थियो । यो विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले समेत सो पैसा फिर्ता गर्न भनेको थियो । तर, उसले अझै ठगी गरेको रकम फिर्ता गरेको छैन । एनसेलबाट राज्यले असुल्नैपर्ने लाभकर र अन्य किमिसका कर पनि अझै बाँकी नै छन् ।












