Logo
Logo

कार्यालय सहयोगीको भरमा निगाली स्वास्थ्य चौकी



निगाली । कैलालीको दुर्गम पहाडी गाउँपालिका चुरेका जनता स्वास्थ्य चौकीमा दरबन्दीका कर्मचारी नहुँदा सेवाबाट बञ्चित भएका छन । चुरे गाउँपालिका वडा नम्बर १ को किम्तोलास्थित निगाली स्वास्थ्य चौकीमा दरबन्दीका स्वाथ्यकर्मी नहुँदा स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका हुन् । गत आर्थिक वर्षदेखि स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएको छ ।

जोरायल, बडिकेदार गाउँपालिकाका स्थानीयलाई पनि स्वास्थ्य सेवा दिदै आएको निगाली स्वास्थ्य चौकीमा ६ महिनादेखि दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कार्यालय सहयोगीले सेवा दिदै आएको बताइएको छ ।

निगाली स्वास्थ्य चौकीमा स्वास्थ्कर्मी नभएपछि सो क्षेत्रका सर्वसाधरणले प्राथमिक उपचार समेत नपाएको चुरे गाउँपालिका वडा नम्बर २ कनकिडीका चक्रबहादुर साउँदले दुखेसो गरे । सामन्य बिरामी हुँदा र सिटामोल किन्नको लागि भएपनि प्रदेशको अस्थायी राजधानी धनगढी पुग्नुपर्ने बाध्यता रहेको बताउँदै साउँदले भने- ‘दुर्गमका जनताले कहिल्यै पनि आधारभूत आवश्यकताको महसुस गर्न पाएका छैनन् ।’

मौसम फेरबदलसंगै बढेको चिसोले रुघाखोकी, सामान्य ज्वरोका बिरामी स्वास्थ्य चौकीमा आउने गरेको भएपनि ओपिडी सेवा बिनानै सिटामोल कार्यालय सहयोगीले दिएर घर पठाने गरेको जोरायल गाउँपालिका वडा नम्बर ७ का खेमबहादुर साउँदले गुनासो गरे ।

मौसम फेरबदलसंगै बिरामीको संख्या बढ्दै गएपनि चुरेका जनताले निगाली स्वास्थ्य चौकीबाट सेवा पाएका छैनन् । अहिले स्वास्थ्य चौकीमा तीन गाउँपालिकाबाट दैनिक ६० देखि ८० जनाको संख्यामा सेवा लिन आउने गरेको बताइएको छ । तर, उनीहरुले ओपिडी सेवा त परै जाओस्, प्राथमिक उपचार समेत पाउन सकेका छैनन् ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा अहिले स्वास्थ्य चौकीमा सिटामोल समेत पाउन समस्या भएको छ । दुर्गम गाउँपालिका चुरेका जनताले यस्तो समस्या वषौंदेखि भोग्दै आएका छन् । तर, सरकार भने मूकदर्शक बनेको छ ।

पहुँचका आधारमा काजमा सरुवा
गत साउन महिना निगाली स्वास्थ्य चौकीका कार्यालय प्रमुख बिक्रमबहादुर बोहरा औषधि खरिद गर्न भनेर गाउँपालिका गए । तर, उनले जनप्रतिनिधिको संरक्षण र पहुँचको आधारमा गाउँपालिकाको स्वास्थ्य शाखामा काजमा सरुवा मिलाए ।

काजमा सरुवा मिलाइ सकेपछि बोहरा नत स्वास्थ्य चौकी पुगे, नत औषधिनै स्वाथ्य चौकीमा पुग्यो । उहाँ गाउँपालिका काजमा गइसकेपछि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीकोमात्रै होइन औषधिको पनि चरम अभाव भएको छ ।

त्यस्तै निगाली स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी रहेकोमा अहिले निजी स्रोततबाट एक जना ल्याब असिटेन्ट, एक जना अनमी र दुई जना कार्यालय सहयोगी रहेका छन । भने स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहरेको बताइएको छ ।

निगाली स्वास्थ्य चौकीमा दरबन्दी भएका स्वास्थ्यकर्मी सागर कार्की अहिले खानीडाँडा स्वास्थ्य चौकीमा छन्, लालीचन्द थारु चुरे ६ बयलास्थित शान्तिनगर स्वास्थ्य चौकीमा छन् । तर, उनीहरुले निगाली स्वास्थ्य चौकीको दरबन्दीमा तलब लिइरहेको एक स्वास्थ्यकर्मीले बताउनु भयो । त्यस्तै, भूमा घिमिरे तीन महिनादेखि सुत्केरी बिदामा छन । बाँकी दरबन्दी भने खाली रहेको निगाली स्वास्थ्य चौकीका व्यवस्थापन समितिका सदस्य गणेशकुमार क्षेत्रीले जानकारी दिए ।

यता चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले यस विषयमा आफू अनविज्ञ भएको बताए । यदी, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नभए उनीहरुलाई कारवाही गर्ने उनको भनाइ छ ।

स्वास्थ्य चौकीमा दरबन्दीअनुसारका कर्मचारीहरु नहुँदा औषधिको पनि चरम अभाव भएको छ । सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेपनि चुरेका जनताले सिटामोल समेत पाएका छैनन् । यता, स्थानीय सरकार र जनप्रतिनिधिहरुले भने यससम्बन्धी कुनै चासो नै राखेका छैनन् ।
जसले गर्दा चुरे क्षेत्रमा मात्र होइनन् सो क्षेत्र आसपासका गाउँपालिकाका जनताले समेत स्वास्थ्य सेवा पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्