Logo
Logo

नेकपाका भातृ संगठनको एकता टुंगिदै, माओवादीलाई युवा, एमालेलाई बिद्यार्थी ?


- दृष्टि न्युज/संवाददाता


माधव पौडेल

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भातृ संगठनको एकता अन्तिम चरणमा पुगेको छ । पार्टी एकताको एक वर्षको अवसरमा शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रममा भातृ संगठनको एकताको घोषणा गर्ने तयारी छ ।


एकताका लागि सबैभन्दा ठूलो संघर्ष युवा र बिद्यार्थीका संगठनको एकतामा छ । दुई मध्ये तत्कालिन माओवादी र एमालेलाई १÷१ वटा संगनठको नेतृत्व दिन लागिएको छ । स्रोतका अनुसार माओवादीलाई युवा तथा एमालेलाई बिद्यार्थी संगठनको नेतृत्व दिन लागिएको छ । जसअनुसार राम प्रसाद सापकोटा दीपशिखाले युवा संगठनको नेतृत्व पाउने भएका छन् । यद्यपी तत्कालिन एमाले नेताहरुले उनलाई रुचाएका छैनन् । बिद्यार्थीको नेतृत्वका लागि दौडधुप जारी छ । जसमा ऐन महर अगाडि देखिएका छन् ।

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन् । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रूपमा अघि सारेका छन् । मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ ।

महिला संगठनमा अध्यक्ष प्रचण्डले उर्मिला अर्यालको नाम अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले विकल्पमा अर्को व्यक्ति अघि सार्न दबाब दिएका छन् ।इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनको भने यसअघि नै एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठन संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन भएका छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादीनिकट हुन् । त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल सर्वसम्मत भएका छन् । शाही तत्कालीन एमालेनिकट हुन् भने पोखरेल माओवादीनिकट । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस भएको छ । नेपाल तत्कालीन एमालेनिकट र पोखरेल माओवादीनिकट हुन् ।

जनसांस्कृतिक महासंघ, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, बुद्धिजीवी, कर्मचारी संगठनमा नेतृत्व टुंगिन बाँकी छ ।

नेकपामा महासचिव विष्णु पौडेलले संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बुधबार बताएका थिए । युवा संघको २९ औं स्थापना दिवसमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले जेठ ३ गतेभन्दा अगावै दुई संगठनबीच एकता हुने जानकारी दिएका थिए । ‘पार्टी एकता भएको जेठ ३ गते एक वर्ष पुग्दैछ। धेरै संगठनको एकता टुंगिए पनि युवा संघ र वाइसीएलको एकता बाँकी छ। यो एकता बाँकी छ भन्ने कुरा केही दिन, केही घण्टाको विषय हो। हामी छिट्टै नै एकता गर्दैछौं। सुसंगत विचार, सुदृढ संगठन र तमाम युवाहरुलाई नेतृत्व प्रदान गर्ने सशक्त संगठनका रुपमा एकतालाई अगाडि बढाउँछौं’, उनको भनाई थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विदेश भ्रमणबाट फर्किएपछि घनीभूत रुपमा एकताका काम अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्