काठमाडौं । गत ९ मंसिरमा मातातिर्थस्थित सशस्त्र प्रहरी तालिम प्रतिष्ठानमा इन्सपेक्टरहरूको पासआउट कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर सशस्त्रले सो कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा अनौठो देखियो, प्रधानमन्त्री उपस्थित हुँदा विभागीय मन्त्री भने अनुपस्थित थिए । गृहमन्त्री बालकृष्ण खाण सो कार्यक्रममा उपस्थित भएनन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा विभागीय मन्त्री सहभागी नहुनुलाई अनौठो मानिन्छ । पार्टी काममा व्यस्तताको कारण देखाएर खाण सो कार्यक्रममा सहभागी भएनन् ।

त्यतिबेला उनी गृहजिल्ला रुपन्देहीमा थिए । सकेसम्म कार्यक्रमको दिन आउने उनले जानकारी गराएका थिए । तर, प्लेन डिले भएको भन्दै काठमाडौं नै आएनन् । गृहजिल्लाको राजनीति मिलाउन सक्रिय भएको उनको जवाफ थियो । पार्टी सभापति तथा प्रधानमन्त्रीभन्दा पनि गृहमन्त्रीको व्यस्तता देखेर सशस्त्र प्रहरी अधिकारीसमेत आश्चर्यमा परेका छन् ।
गृहमा कर्मचारीको बेहाल
सिडिओ हुन चाहने कर्मचारीको भिडले गृह मन्त्रालय अस्तव्यस्त बन्न पुगेको छ । मन्त्रालयमा करिब एक दर्जन सहसचिव र उपसचिवले महिनौंदेखि जिम्मेवारी पाएका छैनन् ।
जबकी, मन्त्रालय अन्र्तगतका कतिपय कार्यालय रिक्त छन् । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग स्थापना भएको दुई महिना हुँदा पनि महानिर्देशक पठाइएको छैन । मन्त्रालयमा सहसचिवहरू हाजिर गर्दै फर्कने गरेका छन् ।
बजेट नभएको भन्दै त्यहाँ कोही जान मान्ने गरेका छैनन् । सहसचिवहरू थानेश्वर गौतम, ढुन्डी निरौला, सुनिता नेपाल, रमेश ढकाललगायत हाजिर गर्दै फर्कने गरेका छन् । जिम्मेवारी नपाउने उपसचिवहरू समेत प्रशस्त छन् । केहीलाई सहायक सिडिओमा सरुवा गरिएकोमा उनीहरू सिडिओमा जाने भन्दै सरुवा नबुझी बसेका छन् । गृहसचिव कमजोर हुँदा मन्त्रालय अस्तव्यस्त भएको कर्मचारीहरु बताउँछन् । आफु निकट भएकै आधारमा सहसचिव हुने जिल्लामा कामु सिडिओ बनाएर उपसचिवलाई पठाइएको छ ।











