काठमाडौं । शंकरदास बैरागी मुख्यसचिव भएको पनि एक वर्ष नाघेको छ । तर, यो अवधिमा बैरागीले प्रशासनमा सुधारको प्रयास गर्न नसकेको कर्मचारीहरूको आरोप छ ।
निजामती प्रशासनमा देखिएका विकृति नियन्त्रणमा पनि बैरागीको कुनै पहल देखिदैन । कतिसम्म भने निजामती कर्मचारीहरु पार्टीको महाधिवेशनमा सहभागी हुँदा समेत मुख्यसचिव मुकदर्शक बनेर बसेका छन् ।

नेकपा एमालेको महाधिवेशनमा करिब एक दर्जन कर्मचारी सहभागी भएका छन् । उनीहरू बिदा लिएर पार्टीको महाधिवेशनमा सहभागी हुँदा पनि निजामती सेवाका सर्वाेच्च कमाण्डरले थाहा नपाएजस्तो गरेका छन् ।
निजामती प्रशासनमा विकृति र विसंगति बढाउने एउटा पक्ष पार्टीगत ट्रेड यूनियन हुन् । ट्रेड यूनियनमा लागेका तल्लो तहका कर्मचारीहरू सचिवलाई समेत धम्काएर आफु अनुकुलको निर्णय गराउँछन् । आफु अनुकुल काम नगरे सचिवकै सरुवा गर्छन् । यस्तो दादागिरी रोक्ने दायित्व मुख्यसचिवको भएपनि बैरागीको भद्रपनको फाइदा पार्टीका कार्यकर्ता कर्मचारीहरूले उठाएका छन् ।
उपसचिव पुन्य ढकालसमेत एमाले महाधिवेशनमा सहभागी भएको स्रोत बताउँछ । त्यस्तै संगठनका अध्यक्ष रहेका केदार देवकोटा, उपाध्यक्ष लेखराज कोइराला, भवानी दाहाल महाधिवेशन प्रतिनिधि बनेका छन् । स्वास्थ्यका डा. सन्तोष पौडेल, झनक शर्मा गौतम, अन्जु बस्नेत, रामबहादुर चन्दलगायत दर्जन भन्दा धेरै कर्मचारी काम छाडेर पार्टीको काममा लाग्दा पनि कारबाही हुन सकेको छैन ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी निकट कर्मचारी संगठनका नेताहरू समेत ट्रेड यूनियनको आवरणमा पार्टीको राजनीतिमा सक्रिय छन् । यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो दिएको छैन । जबकी, निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई दलमा आबद्ध नहुन र भएकालाई कारबाही गर्न चेतावनी दिएको छ ।











